तनहुँ : बुधबार कोरोना संक्रमण पुष्टि भएका शुक्लागण्डकी नगरपालिका–४ का २९ वर्षीय पुरुषको सम्पर्कमा आएकाको स्वाब संकलन गरिएको छ । कन्ट्याक ट्रेसिङमा आएका ५९ जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो । शनिबार स्वाब संकलन गरी परिक्षणका लागी पोखरा पठाएको उहाँले बताउनुभयो ।
बुधबार क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा ती युवाको रिपोर्ट पोजेटिभ आएको थियो । दुलेगौँडाको एक डिपार्टमेन्टल स्टोर्समा कार्यरत समुदायस्तरका व्यक्तिमा कोरोना फैलिएपछि यहाँ त्रास बढेको छ ।
उहाँलाई संक्रमण पुष्टि भएपछि समुदायस्तरमा फैलने जोखिम बढेको भन्दै सोही दिन राति १२ बजेदेखि एक हप्तासम्मलाई शुक्लागण्डकी नगरपालिकाको २ देखि ९ सम्मका वडा र भिमाद नगरपालिकाको सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
ती व्यक्ति पुगेको शुक्लागण्डकीका ८ र भिमादका २ पसल सोही दिन शिल गरिएको थियो । स्वास्थ्य शाखाले कास्कीका १० पसलमा पुगेको खुलेपछि व्यवस्थापनका लागि पोखरा महानगरपालिकाको स्वास्थ्य माहाशाखालाई पत्राचार गरेको थियो ।