मल पाउने आशमा, दिनभर लाइनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मल पाउने आशमा, दिनभर लाइनमा

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै उठेर दमौली आउनुभयो । सार्वजनिक सवारी नचलेका कारण उहाँ हिँडेरै दमौली आउनुभएको थियो । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बस्नुभएका उहाँले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाउनुभएन ।

    “मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर मल पाइएन,” उहाँले भन्नुभयो, “मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।” मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उहाँले गुनासो गर्नुभयो । उहाँले कसैले ३५÷४० किलोसम्म पनि मल पाएपनि कसैले पनि रित्तो हात फर्कनुपरेको बताउनुभयो ।

    व्यास नगरपालिका–७ कलेस्तीकी पूजा कुमाल पनि बिहान ९ः३० बजेदेखि मल लिनका लागि लाइनमा बस्नुभयो । दिनभर लाइनमा बस्दा पनि उहाँले मल पाउनुभएन । “गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,” कुमालले भन्नुभयो, “भोलि पनि आएर पाउने निश्चित छैन ।”

    मल नपाएपछि जिल्ला प्रशासन कार्यालय पुगेका कृषक ।

    १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरेपनि मल नपाएको उहाँको गुनासो छ । “कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,” कुमालले भन्नुभयो, “धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।” उहाँलाई कोरोना भन्दा पनि धान कुहिएला की भन्ने चिन्ता छ । “अलि अलि खेती गरेको धान पनि मल हाल्न नपाएर कुहियो भने के खाने ?,” उहाँले प्रश्न गर्नुभयो । 

    व्यास नगरपालिका–७ कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसेपनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताउनुभयो । चिनेका मान्छेलाई जतिबेला पनि मल दिएपनि आफूहरुले भने मल नपाएको उहाँको गुनासो छ । “डिपोमा मल छ, तर साँझ ४ः३० बजेपछि डिपो नै बन्द गरेर हिँडिदिए,” उहाँले भन्नुभयो ।

    व्यास नगरपालिका–५ साँगेका विवि राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताउनुभयो । “भन्नलाई कृषिप्रधान देश भनिन्छ तर चाहिएको बेला मल पाइँदैन, एक रोपनी क्षेत्रफलमा धान खेती गरेको छु । धेरै चोटी प्रयास गरे तर मल पाउन सकिन,” उहाँले भन्नुभयो ।

    तनहुँको दमौलीस्थित नविन उपभोक्ता सहकारी मार्फत् मल विक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो । डिपोमा मल हुँदाहुँदै पनि कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेट गरी मल उपलब्ध गराइदिन माग गरेका थिए ।

    प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङमार्फत् आएको मल बाँकी भएको भए कृषकलाई विक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिनुभयो । “सहकारीका सदस्यहरुलाई पहिला विक्री गरेर अरु सर्वसाधारणलाई विक्री गरेको बुझिएको छ, मल भएको भए कृषकलाई वितरण गरेर सकाइदिएको भयो हुन्थ्यो,” उहाँले भन्नुभयो, “यसका लागि सहजीकरण गर्न प्रहरीलाई निर्देशन दिएको छु ।”

    प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुनः डिपोमा पुगेका कृषकहरुले मल पाएनन् । त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए । यस विषयमा नविन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष र डिपोका प्रतिनिधिलाई सम्पर्क गर्न खोजेपनि उहाँहरुको फोन उठेन ।