गुर्जोको सेवनकर्ता बढ्दै (रिपोर्ट सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    गुर्जोको सेवनकर्ता बढ्दै (रिपोर्ट सहित)

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बिहीबार

    तनहुँ : देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई २८ साउनमा कोरोना सङ्क्रमणको पुष्टि भयो । होम आइसोलेशनमा बस्नुभएका उहाँले भदौ ३ मा कोरोनालाई परास्त गर्नुभयो ।

    औषधीको ट्याब्लेट नै नखाई निको हुनुभएका पौडेलले सङ्क्रमण पुष्टि भएपछि निको नहँदासम्म नियमित गुर्जोको रस, बेसार पानी, कागती पानीको सेवन र शारीरीक व्यायम गर्ने गरेको बताउनुभयो । पौडेलले जस्तै रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस सेवन गर्ने धेरै छन् ।

    गाउँमा घरको वरपर र जङ्गलमा प्रशस्तै पाईने गुर्जो आजकाल शहरका बगैंचा र करेसामा समेत लगाउन थालिएको छ

    कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको दुलेगौडाका शिक्षक एकनारायण भण्डारीले बताउनुभयो । ‘कोरोना सङ्क्रमण नदेखिँदासम्म गुर्जेको वास्तै थिएन, आजकल परिवारले नै नियमित सेवन गर्छाँै,’ उहाँले भन्नुभयो, ‘रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि सेवन गर्न थालेको हौं ।’

    गाउँमा घरको वरपर र जङ्गलमा प्रशस्तै पाईने गुर्जो आजकाल शहरका बगैंचा र करेसामा समेत लगाउन थालिएको छ । नियमित सेवन गर्न थालेसँगै छिमेकीको खाली जग्गामा पनि गुर्जो लगाएको भण्डारीले जानकारी दिनुभयो ।

    गुर्जो सम्बन्धि रिपोर्ट

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएपछि च्वाट्टै पार्ने ओखतीमूलो केही छैन । कोरोना निको पार्ने भ्याक्सिन बनाउन विकसित मुलकको प्रतिष्पर्धा चलिरहेपनि अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भइहालेमा रोग प्रतिरोधात्मक क्षमता बढाएर परास्त गर्नुको विकल्प छैन । त्यसैले रोगसँग लड्ने क्षमता बढाउने वनस्पती गुर्जोको सेवनकर्ता बढ्न थालेका छन् ।

    तनहुँमा कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसेका, जोखिमयुक्त स्थानबाट आएर क्वारेन्टिनमा रहेकाले मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता बढाई सङ्क्रमण हुन नदिनलाई गुर्जोको रस र धुलो सेवन गर्ने गरिएको छ ।

    जताततै गुर्जोको चर्चा अनि खोजी हुन थालेको छ । आजकाल हर घरमा गुर्जोको रस सेवन हुन्छ । गाउँघरतिर छ्यापछ्याप्ती पाईन्छ गुर्जो । शताब्दीदेखि नै औषधिका रुपमा प्रयोग भएतापनि पछिल्लो समयमा त्यति प्रयोग हुन्थेन । औषधीय गुणले भरिपूर्ण वनस्पति गुर्जोको लहरा कोरोना सङ्क्रमण देखिन थालेपछि चर्चामा आएको हो । यसको माग पनि ह्वात्तै बढेको छ ।

    गुर्जोमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त पाईने आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा. रामप्रवोध मण्डलले बताउनुभयो । ‘कोरोनालाई मार्ने एन्टिभाइरल मेडिसिन अहिलेसम्म बनेको छैन, यसलाई जित्ने भनेको इम्युनिटी पावर बढाएरै हो । ३५ सय बढी अनुसन्धानबाट गुर्जोले इम्युनिटी पावर बढाउने पुष्टि भएको छ । कोरोना भाइरस मात्रै होइन, अरु भाइरसबाट पनि बचाउँछ,’ उहाँले भन्नुभयो ।

    डा. मण्डलका अनुसार ताजा गुर्जोलाई एक औला बराबर काटेर त्यसको पाँच मिलिटिर रस निकालेर बिहान बेलुका पिउनु उत्तम हुन्छ । ‘रस बढी तितो भएर पिउन नसकेमा त्यसलाई टुक्राटुक्रा पारेर रातभर पानीमा भिजाउने, भोलिपल्ट पानीमा उमालेर सेवन गर्दा पनि हुन्छ,’ उहाँले भन्नुभयो । गुर्जोको सेवनले नकरात्मक असर नहुने उहाँको भनाई छ । गुर्जो कोरोना सङ्क्रमितले मात्रै नभएर जुनै रोगका बिरामीले पनि सेवन गर्न सक्ने मण्डल बताउहुनुन्छ ।