तनहुँमा ११ हजार नयाँ मतदाता थपिए (कुन पालिकामा कति ?)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ११ हजार नयाँ मतदाता थपिए (कुन पालिकामा कति ?)

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७८, सोमबार

    दमौली । तनहुँ जिल्लामा ११ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँले दुई चरणमा स्थानीय तहमार्फत् सञ्चालन गरेको अभियान अन्तर्गत ११ हजार ६ सय २० नयाँ मतदाता थपिएका हुन् ।

    कार्यालयले नौ वटा स्थानीय तहबाट मङ्सिर १७ गतेदेखि पुस ९ गतेसम्म मतदाता नामावली अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको छ ।

    पहिलो चरणमा भिमाद नगरपालकिा, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिका तथा दोस्रो चरणमा शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन गरिएको छ ।

    निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले भानु नगरपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको जानकारी दिए । उनका अनुसार भानु नगरपालिकाबाट दुई हजार दुई सय ६५, शुक्लागण्डकी नगरपालिकाबाट एक हजार पाँच सय ३०, भिमाद नगरपालिकाबाट एक हजार १७, आँबुखैरेनी गाउँपालिकाबाट एक हजार तीन, बन्दिपुर गाउँपालिकाबाट नौ सय २५, देवघाट गाउँपालिकाबाट सात सय १२, घिरिङ गाउँपालिकाबाट सात सय २९, म्याग्दे गाउँपालिकाबाट पाँच सय ३५, ऋषिङ गाउँपालिकाबाट आठ सय ६८ मतदाता थपिएका छन् । थपिएकामध्ये महिलाको सङ्ख्या बढी रहेको छ ।

    यसैगरी जिल्ला निर्वाचन कार्यालयबाट नौ सय ५५ र प्रशासन कार्यालयबाट सोही अवधिमा एक हजार ८१ मतदाता थपिएका छन् । यसैगरी बाहिरी जिल्लाका ६५ जनाले पनि प्रशासन कार्यालयबाट नामावली दर्ता गराएका छन् । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ,” ढकालले भने, “परिचयपत्र हराएकाले पनि पुनः नाम दर्ता गराएको हुन सक्छ ।”

    मतदाता नामावली सङ्कलनका लागि ९ जना दर्तास्थल व्यवस्थापक, पाँच जना दर्ता कर्मचारी, ९ जना सहायक दर्ता कर्मचारी र ९ जना दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन गरिएको थियो । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ ।

    स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता रहेकामा प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार चार सय ४६ मतदाता रहेका थिए । विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म दुई हजार आठ सय १७ मतदाता थपिएका छन् ।