दमाैली । व्यास नगरपालिकाले चार विधेयक पारित गरेको छ । नगरपालिकाको शुक्रबार आयोजित ३६ औं नगरसभाले विभिन्न चार वटा विधेयक पारित गरेको हो ।
सुशासन विधेयक, खेलकुद विकास विधेयक, कर्मचारी कल्याणकारी कोष विधेयक र स्थानीय बजार व्यवस्थापन विधेयक पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । विधायन समितिका संयोजक अमृत नेपालीले नगरसभामा उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए ।
यसैगरी नगरसभाले आर्थिक ऐन, २०७८, विनियोजन ऐन, २०७८ र व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन, २०७८ संशोधन गरेकाे छ ।
नगरपालिकाले हालसम्म २५ वटा ऐन, १० वटा नियमावली, ५१ वटा कार्यविधि, ९ वटा निर्देशिका, चार वटा अन्य विविध कानुन निर्माण गरेको छ । उक्त निर्माण भएका कानुनमध्ये ३२ वटा संशोधन र चार वटा खारेज गरिएको छ ।
नगरसभाले आ.व २०७८/०७९ का लागि रु १ अरब ७७ कराेड ८९ लाख १२ हजारकाे संशोधित बजेट तथा कार्यक्रम संशोधन सहित पारित गरेकाे छ ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।