भिमाद । भिमाद नगरपालिकाको मेयरमा नेकपा एमालेबाट आठ जना आकांक्षी देखिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेबाट वर्तमान मेयरदेखि नगर कमिटी अध्यक्षसम्म आकांक्षी छन् ।
भिमादको मेयरका लागि नगर कमिटी अध्यक्ष इमानबहादुर थापा, हालका मेयर मेखबहादुर थापा, दधिराज सुवेदी, भवानीशंकर लम्साल, नारायण खनाल, धर्मराज खनाल, दयाराम श्रेष्ठ र बाबुराम सुनार आकांक्षी छन् ।
उपमेयरमा वर्तमान उपमेयर शारदा खनाल पुन: दोहोरिन चाहन्छिन् । यस्तै पवित्रा थापा, चन्द्रावती श्रेष्ठ, दिनाकुमारी गोतामे, नारायणी गैरे लामिछाने र यामकुमारी राना उपमेयरका आकांक्षी हुन् ।
आकांक्षीबीच छलफल गरी मेयरमा दुई जनाको नाम सिफारिस गरिने नगर कमिटी अध्यक्ष इमानबहादुर थापाले जानकारी दिए। ‘आकांक्षीबीच छलफल गरी मेयरमा महिला आकांक्षी नभएकाले दुई जना र उपमेयरमा तीन जनाको नाम सिफारिस गर्छौ,’ उनले भने ।
भिमाद-९ का वडाध्यक्ष समेत रहेका नगर कमिटी अध्यक्ष मेयरका बलिया दावेदार हुन् । उनी नगरमा लोकप्रिय छन् । गत निर्वाचनमा भिमादमा मेयर, उपमेयर सहित बहुमत वडा एमालेले जितेको थियो ।