दमाैली । तनहुँको बन्दीपुर गाउँपालिकामा पुनः चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिका–१ बागदलेमा आज बिहान २ः३० बजे चितुवाको आक्रमणमा परी ३५ वर्षीय भीमलाल गरञ्जा घाइते भएका छन् ।
चितुवाको आक्रमणबाट घाइते उनकाे डुम्रेस्थित मोती मेडिकलमा उपचार भइरहेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । घरबाहिर पिसाब फेर्न निस्किएको बेला चितुवाले आक्रमण गरेको हो । उहाँको खुट्टामा चोट लागेको छ ।
शनिबार राति ८ः३० बजे चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका–४ की ८ वर्षीया रियाना थापा घाइते भएकी थिइन् । ती बालिकाको घरभन्दा दुई सय ५० मिटर टाढा रहेको घरमा चितुवाको पुनः आक्रमण भएको हो ।
बन्दीपुर गाउँपालिका–१ बागदलेमा पहिल्यैदेखि चितुवाको बासस्थान रहँदै आएको बताइएको छ । पानीको व्यवस्था र ओडार भएकाले यहाँ चितुवा बस्दै आएको वडाध्यक्ष श्रेष्ठले बताए ।
पछिल्लो केही वर्ष यता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतङ्क छ । सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ । चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । साँझ र बिहानको झिसमिसेका बेला घर वरपर उज्यालो बनाइराख्न आग्रह गरिएको छ ।
एकपटक आक्रमण गरेको चितुवाले पुनः आक्रमण गर्ने सम्भावना भएकाले सतर्क रहन आग्रह गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले बताए । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्ज्यालो बनाऔं, झाडी सफा गरौं, एक्लै नहिँडौ,” उनले भने, “बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौ ।”