राजापानीमा एकादशी मेला, १५ फूलको डोली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजापानीमा एकादशी मेला, १५ फूलको डोली

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०८०, बिहीबार

    दमौली । हरिबोधनी एकादशीको अवसरमा तनहुँको व्यास नगरपालिका वडा नम्बर ९ मा अवस्थित धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र सिद्धेश्वर राजापानी महादेव मन्दिरमा विशेष धार्मिक मेला लागेको छ ।

    मन्दिर परिसरमा बिहीबार बिहानैदेखी फूलको तोरन तार्नेहरुको भीड लागेको थियो । भक्तजनबाट अघिल्लो दिन सत्यनारायणको पूजा लगाइ रातभरि जाग्रम रही आजका दिन बिहानै पञ्चैबाजा बजाउँदै नाँचगानका साथ मन्दिरमा फूल तार्ने प्रचलन छ । यस मन्दिरमा विशेष गरी हरिबोधनी एकादशी र महाशिवरात्रीका दिन भक्तजनहरुबाट मेला लाग्ने गर्दछ ।

    यस मन्दिरमा भाकल (कामना) गर्दा आफ्ना मनोकांक्षा पुरा हुने विश्वासका साथ यस दिन मन्दिरमा हजारौंको संख्यामा भक्तजनहरुमा भेला हुने गर्दछन् । सिद्धेश्वर राजापानी महादेव मन्दिरमा बिहीबार १५ वटा फूलको डोली तारिएको छ ।

    दुखकष्टबाट मुक्ति, लाभको कुनै कामना, मनको इच्छा पूरा गरिदेउ, पूरा भएमा फूलको डोली लिएर दर्शन गर्न आउँछु जस्ता विभिन्न भाकलहरु गर्ने गरिन्छ । उक्त मन्दिरमा जिल्लाको विभिन्न ठाँउबाट फूलको डोली ल्याउने गरेको बताइन्छ ।

    कुनै समय गोपाल घर्ती भन्ने व्यक्तिले राति सपनामा हालको मन्दिर भएको ठाँउमा शिलाबाट दुध आएको देखी भोलिपल्ट गएर उक्त शिला देउराली भन्ने ठाँउमा लादै गर्दा उनी बिरामी भइ सो शिला त्यही ठाँउमा छाडेर गएका पछि हेर्दा शिला पुन पहिलेकै उठाएको ठाँउमा नै भेटिएको भन्ने किम्बदन्ती पाइन्छ ।