विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाइँदै

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८१, बुधबार

    दमौली । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् ।

    पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिए । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्धेश्य सहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ ।

    उनले भने, “नेपाली परम्परा अनुसारको कला सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्धेश्य सहित विद्यार्थीलाई सालको पातबाट दुना, टपरी बनाउन सिकाएका हौं । यसले नेपाली कला र संस्कृति जीवन्त राख्न सहयोग पुग्ने विश्वास लिएका छौं ।”

    पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवा पुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ ।

    त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ । विद्यालयले पुस्तकरहित शुक्रबार कार्यक्रम मार्फत् प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो ।

    विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्धेश्यसहित मकैको खोस्टाबाट चकटी निर्माण गर्न सिकाइएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले जानकारी दिए । उनका अनुसार विद्यार्थीको रुची अनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, विद्युतीय वायरिङ लगायतका सीप सिकाउन थालिएको छ ।

    विद्यालयका शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई मकैको खोस्टाबाट चकटी बनाउन सिकाएका छन् ।