पुलिमराङ पुगेर राष्ट्रपतिले भने : जनतालाई सुखी र खुसी बनाउन तीनतहकै सरकारले काम गरिरहेका छन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पुलिमराङ पुगेर राष्ट्रपतिले भने : जनतालाई सुखी र खुसी बनाउन तीनतहकै सरकारले काम गरिरहेका छन्

    खबरपुञ्ज संवाददाता

    १५ माघ २०८१, बुधबार

    दमाैली । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुसी र सुखी बनाउन तीनतहकै सरकारले काम गरिरहेको बताएका छन् ।

    तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित सहिद पार्कमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको खुसीका लागि विकासको काममा जुटेको उल्लेख गरे ।

    नेपाल पनि अब चाँडै उन्नतिको बाटोमा अगाडी बढ्ने बताउँदै राष्ट्रपति पौडेलले भने, “अरु मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ । नेपालमा केही भएन भनेर निराशा व्यक्त गर्ने होइन । अब सबै मिलेर नेपाल बनाउने बेला आएको छ ।”

    राष्ट्रपति पौडेलले कृषि क्रान्ति गरेर उद्योग व्यवसाय स्थापना गरी गाउँमा नै रोजगारी र गाउँमा नै आम्दानी गराउनेतर्फ सरकार लागिपरेको उल्लेख गरे । उनले भने, “नेपाली जनतालाई सुखी बनाउन चाहन्छौ, खुसी बनाउन चाहन्छौ । राज्यले त्यही अनुसार काम गरिरहेको छ ।”

    राष्ट्रपति पौडेलले सहिदको बलिदानीका कारण नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सहिदले देखाएको बाटो भुल्न नहुने बताए । नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्र स्थापनाका लागि सहिदको भूमिका अतुलनीय रहेको पौडेलको भनाइ थियो ।

    उनले भने, “प्रजातन्त्र स्थापनाका लागि पुलिमराङको पनि महत्वपूर्ण भूमिका छ । विसं २००७ सालको क्रान्ति होस् या २०१८ सालको क्रान्तिमा यहाँका सहिदको बलिदानी महत्वपूर्ण रह्यो । पुलिमराङ सहिदको भूमि हो ।” राष्ट्रपति पौडेलले पुलिमराङसम्म आउने बाटो छिट्टै कालोपत्र हुने बताए ।

    सहिद पार्कमा भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् । यी सबै शहीद पुलिमराङमा जन्मिएका थिए । जसले राणाशासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा ज्यान गुमाए ।

    सहिद पार्क बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहल गर्नुभएको थियो । विसं २०५१ चैत २९ गते पुलिमराङ गाउँमा सौर्य परियोजना उद्घाटन गर्न आएका बेला कोइरालाको तदारुकतामा समिति बनेको थियो ।

    विसं २०६६ मा सहिद स्मारक बनाएर छ जना सहिदको अर्धकदको शालिक राखियो । ती शालिकको एक दशकपछि अनावरण गरिएको थियो ।