


दमाैली, १० चैत । रास्वपा उपसभापति एवं तनहुँ-१ का सांसद डा. स्वर्णिम वाग्लेले तनहुँमा उत्पादन भएको ‘कटुस’ महलाई अन्तर्राष्ट्रिय बजारमा पुगेको उल्लेख गर्दै यसलाई नेपालको आर्थिक सम्भावनाको महत्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत उक्त मह “मरानी चेष्टनट हनी” ब्रान्डमा विश्व बजारमा बिक्री सुरु भएको जानकारी दिँदै नेपाली उत्पादनलाई उच्च मूल्यमा विश्वस्तरमा स्थापित गर्न सकिने सम्भावना उजागर भएको बताए।
उनका अनुसार तनहुँको ‘कटुस’ वनबाट संकलन गरिएको यो विशेष महको मूल्य प्रतिकिलो करिब ७५ हजार रुपैयाँ तोकिएको छ भने २५० ग्रामको मूल्य करिब ८३ अमेरिकी डलर रहेको छ। यस्तो उच्च मूल्यमा नेपाली उत्पादन बिक्री हुनु देशका लागि गौरवको विषय भएको उनले उल्लेख गरे ।
वाग्लेले नेपाली उत्पादनलाई विशिष्ट प्रशोधन, गुणस्तरीय परीक्षण, आधुनिक प्याकेजिङ तथा प्रभावकारी बजारीकरणमार्फत विश्व बजारमा पुर्याउन सूर्य नेपाल अन्तर्गतको “हिमालयन ट्रेजर” ब्रान्डको भूमिकाको प्रशंसा गरे। उनले यस्ता पहलले देशभित्र थप लगानी आकर्षित गर्ने विश्वास व्यक्त गरे।
उनले उच्चस्तरीय उत्पादन वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने लक्ष्यतर्फ अगाडि बढ्नुपर्ने धारणा राख्दै तनहुँको यो मह देशभरका उद्यमी र कृषकहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताए ।
वाग्लेले समग्रमा स्थानीय स्रोत र सम्भावनालाई सही ढंगले उपयोग गर्न सके नेपालले विश्व बजारमा आफ्नो पहिचान मजबुत बनाउन सक्ने उल्लेख गरे ।