महिला उद्यमी संघ नेपाल तनहुँकाे साधारण सभा सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिला उद्यमी संघ नेपाल तनहुँकाे साधारण सभा सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८२, मंगलवार

    दमाैली, १७ चैत । महिला उद्यमी संघ नेपाल तनहुँले साधारण सभा सम्पन्न गरेको छ। संघले मङ्गलबार दमौलीमा ५ औँ साधारण सभा सम्पन्न गरेको हो। महिला उद्यमी सङ्घ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा आयोजित साधारण सभाको उद्यमी महासंघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष पार्वती रेग्मी पौडेलले उद्घाटन गरेकी थिइन् ।

    कार्यक्रमकी प्रमुख अतिथि पौडेलले महिला उद्यमशीलता आजको आवश्यकता मात्र नभई भोलिको समृद्ध समाज निर्माणको आधार भएको बताइन् । उनले नेपालजस्तो विकासोन्मुख देशमा महिलाहरूको आर्थिक सशक्तीकरण बिना समग्र विकासको कल्पना गर्न नसकिने कुरालाई ध्यानमा राख्दै तनहुँ शाखाले गरेका कार्य उत्कृष्ट भएको बताइन् ।

    विगतका वर्षहरूमा विभिन्न चुनौतीहरूका बाबजुद पनि व्यवसाय, उद्योग, कृषि, सेवा क्षेत्र लगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति स्मरण गर्दै पौडेलले सीप विकास तालिम, उद्यम प्रवर्द्धन, बजार व्यवस्थापन र नेटवर्किङमा तनहुँ शाखाको कार्य अब्बल रहेको उल्लेख गरिन्।

    कार्यक्रममा महिला उद्यमी संघ तनहुँका कानुनी सल्लाहकार सरिता भण्डारी, शुक्लागण्डकी बजार इकाई सभापति सपना पराजुली, कार्यक्रममा सहभागी अन्जु दाहाल लगायतले सबैको साझा प्रयासले महिला उद्यमी सङ्घ नेपाल तनहुँलाई महिला उद्यमशीलताको उत्कृष्ट केन्द्र बनाउने विश्वास व्यक्त गरेका थिए । यसैगरी महिला उद्यमी संघ नेपाल तनहुँले सदस्यता विस्तारसँगै सम्पूर्ण सदस्यहरुलाई प्रमाणपत्र प्रदान समेत गरेको छ भने महिला उद्यमीहरूको सीप प्रदर्शन समेत गरेको बताइएको छ । महिला उद्यमी संघ तनहुँका प्रथम उपाध्यक्ष तुलसी शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सरु श्रेष्ठले गरेकी थिइन्।