


दमाैली, १६ वैशाख । तनहुँकाे म्याग्दे गाउँपालिका–३, किल्चोकमा अवस्थित पवित्र अकला देवी वैशाख १९ गते शनिबार विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। मन्दिर व्यवस्थापन समितिले दिएको जानकारीअनुसार उक्त दिन रुद्राभिषेक, चण्डीपाठ, हवन तथा विश्व शान्ति कार्यक्रम भव्य रूपमा सम्पन्न गरिनेछ।
हिन्दू धर्ममा विशेष महत्व राख्ने रुद्राभिषेक भगवान शिवको आराधना तथा शान्ति, समृद्धि र सुख–सम्पत्तिका लागि गरिने पवित्र पूजा हो। यसैगरी चण्डीपाठ देवी शक्तिको स्तुति गर्दै नकारात्मक शक्तिको नाश, साहस र आत्मबल वृद्धिका लागि महत्वपूर्ण मानिन्छ।
हवन मार्फत वातावरण शुद्धीकरण, सकारात्मक ऊर्जा प्रवाह तथा धार्मिक आस्थाको अभिवृद्धि हुने विश्वास रहेको छ। कार्यक्रमको मुख्य उद्देश्य विश्व शान्ति, सामाजिक सद्भाव, परिवारिक सुख–समृद्धि तथा धार्मिक जागरण फैलाउनु रहेको आयोजकले जनाएको छ।
स्थानीय भक्तजन तथा आसपासका क्षेत्रका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। मन्दिर समितिले सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन हार्दिक निमन्त्रणा गरेको छ। साथै, कर्ता बस्न इच्छुक भक्तजनका लागि विशेष व्यवस्था पनि गरिएको आयोजक पक्षले जनाएको छ।