थानीमाई मन्दिर क्षेत्रको विकासलाई प्राथमिकता : पूर्वाधार तथा पार्क निर्माणको तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाई मन्दिर क्षेत्रको विकासलाई प्राथमिकता : पूर्वाधार तथा पार्क निर्माणको तयारी

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८३, बिहीबार

    दमौली, १४ साउन। तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थानीमाई मन्दिर परिसरमा आवश्यक पूर्वाधार विकास तथा पार्क निर्माणको प्रक्रिया अघि बढाइएको छ। सोही क्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र थापासहितको प्राविधिक टोलीले मन्दिर परिसरको स्थलगत निरीक्षण गर्दै योजनाको लागत अनुमान तयार गर्ने कार्य सम्पन्न गरेको छ।

    निरीक्षणका क्रममा मन्दिर परिसरको वर्तमान अवस्था, आवश्यक भौतिक संरचना, पर्यटकका लागि आवश्यक सुविधा तथा पार्क निर्माण गर्न सकिने सम्भावित क्षेत्रको अध्ययन गरिएको गाउँपालिकाले जनाएको छ। तयार गरिएको लागत अनुमानका आधारमा आगामी चरणमा योजना कार्यान्वयन प्रक्रिया अघि बढाइने जनाइएको छ।

    गाउँपालिकाका अध्यक्ष थापाले थानीमाई मन्दिर धार्मिक आस्थासँगै बन्दीपुरको महत्वपूर्ण पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण, विकास र प्रवर्द्धन गाउँपालिकाको प्राथमिकतामा रहेको बताए। उनले भने, थानीमाई क्षेत्रलाई व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो। आवश्यक पूर्वाधार र पार्क निर्माणपछि यहाँ आउने धार्मिक पर्यटक तथा आन्तरिक–बाह्य पर्यटकलाई थप सहज र गुणस्तरीय सेवा उपलब्ध हुनेछ। यसले बन्दीपुरको पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्नेछ।”

    अध्यक्ष थापाले विकास निर्माणका योजनालाई दिगो र प्रभावकारी बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै योजना कार्यान्वयनमा सबैको साथ, सहयोग र रचनात्मक सुझाव आवश्यक पर्ने बताए। उनले थानीमाई क्षेत्रको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक मौलिकतालाई संरक्षण गर्दै पर्यटन पूर्वाधार विस्तार गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

    गाउँपालिकाका अनुसार योजना सम्पन्न भएपछि थानीमाई मन्दिर क्षेत्र थप व्यवस्थित, सुरक्षित, आकर्षक तथा पर्यटकमैत्री गन्तव्यका रूपमा विकास हुनेछ। यसले बन्दीपुरको धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै स्थानीय रोजगारी, व्यवसाय र समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।