खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन तीव्र, तनहुँमा जरिवानासहित कारबाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खाद्य स्वच्छता तथा गुणस्तर अनुगमन तीव्र, तनहुँमा जरिवानासहित कारबाही

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८३, बिहीबार

    तनहुँ, २२ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँद्वारा खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर कायम गराउन गोरखा र तनहुँमा बजार अनुगमनलाई तीव्र पारिएको छ। अनुगमनका क्रममा म्याद नाघेका, सडेगलेका तथा असुरक्षित रूपमा भण्डारण गरिएका खाद्य सामग्री जफत गरी नष्ट गर्नुका साथै व्यवसायीलाई जरिवाना र कारबाही प्रक्रिया अघि बढाइएको छ।

    गोरखाको पालुङटार नगरपालिकाको समन्वयमा बुधबार पालुङटार बजार क्षेत्रमा १० वटा व्यवसायको अनुगमन गरिएको छ। अनुगमन गरिएका व्यवसायमा छ वटा खाद्य पसल र चार वटा खाजा घर रहेका थिए। सो क्रममा करिब रु. १५ हजार ८२० बराबरका म्याद नाघेका खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ।

    त्यस्तै, बिहीबार पालुङटार नगरपालिका–५ मा एकीकृत सेवा कार्यालय गोरखाको आयोजनामा थप १४ वटा व्यवसायको निरीक्षण गरिएको छ। निरीक्षण गरिएका व्यवसायमा ११ वटा खाद्य पसल र तीन वटा होटल रहेका छन्। गोरखा जिल्लाका विभिन्न बजार क्षेत्रमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अनुगमनलाई सघन बनाइएको जनाइएको छ।

    यता तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजार क्षेत्रमा गाउँपालिकाका उपाध्यक्षको अगुवाइमा संयुक्त अनुगमन गरिएको छ। अनुगमनका क्रममा १० वटा पसल तथा पाँच वटा होटल तथा खाजा घर गरी १५ वटा व्यवसाय निरीक्षण गरिएको थियो।

    अनुगमनका क्रममा करिब रु. १५ हजार २६० बराबरका म्याद नाघेका, सडेगलेका तथा असुरक्षित रूपमा भण्डारण गरिएका खाद्य सामग्री फेला परेपछि नष्ट गरिएको छ। त्यस्तै, एउटा पसललाई रु. ५ हजार जरिवाना गरिएको छ।

    एक डिलरले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सञ्चयकर्ता तथा बिक्रेताले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेको पाइएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।

    यसैगरी पश्चिम तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका खाद्य उद्योग, होटल तथा खाजा घरको समेत अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमन टोलीले व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न, खाद्य सामग्री सुरक्षित रूपमा भण्डारण गर्न तथा म्याद गुज्रिएका सामग्री बिक्रीवितरण नगर्न निर्देशन दिएको छ।