


तनहुँ ६ कात्तिक । दशैंको अवधिमा तनहुँमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बुधबार साँझ करिब ७ः४० बजे व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गमा हाइलक्स गाडीको ठक्करबाट व्यास नगरपालिका–१४ निवासी ४५ वर्षीय हेमबहादुर थापाको मृत्यु भएको हो ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा १८ च ४५८७ नम्बरको गाडीले पैदलयात्री थापालाई ठक्कर दिएको थियो । घाइते थापाको प्रदेश अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
यसैगरी बिहीबार साँझ करिब ६ः२५ बजे शुक्लागण्डकी नगरपालिका–५ झरौटास्थित पृथ्वी राजमार्गमा कारको ठक्करबाट ६८ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु भएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग ४ च २२८१ नम्बरको कारले शुक्लागण्डकी नगरपालिका–११ राईपुर निवासी श्रेष्ठलाई ठक्कर दिएको थियो । घाइते श्रेष्ठलाई जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुवै दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।