


तनहुँ, ७ कात्तिक । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा शनिबार तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
करिब ३ः२५ बजे दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकआपसमा ठोक्किएका थिए।
ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेको र पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ईभी माइक्रोका चालक शुक्लागण्डकी नगरपालिका–६ निवासी ३२ वर्षीय सुमन परियार र माइक्रोमा सवार व्यास नगरपालिका–१४ निवासी ९ वर्षीया जेनिशा परियार घाइते भएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
घाइते दुवै जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। दुर्घटनाका कारण राजमार्गमा सवारी आवागमन अवरुद्ध नभएको जनाइएको छ।