


तनहुँ, ८ कात्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले पोखरा–मुग्लिन सडकखण्डमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
आइतबार बिहान ५ बजेदेखि सडकखण्डका तीन स्थानमा सञ्चालन गरिएको कार्यक्रममा चालकलाई सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धमा सचेत गराइएको प्रहरीले जनाएको छ ।
जसअन्तर्गत दुईपाङ्ग्रे ६१ वटा, चारपाङ्ग्रे साना ६५ वटा र ठूला ८६ वटा गरी कुल २१२ वटा सवारीसाधनका चालकलाई सचेतना प्रदान गरिएको छ ।
सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा र ट्राफिक नियमको प्रभावकारी पालना गराउने उद्देश्यले प्रहरीले चालक सचेतना अभियानलाई निरन्तरता दिएको हो ।