शुक्लागण्डकीमा तिहारमा नौ लाख ५३ हजारको फूल बिक्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा तिहारमा नौ लाख ५३ हजारको फूल बिक्री

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०८३, मंगलवार

    तनहुँ, १ मंसिर । तिहारको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले सयपत्री फूल बिक्री गरेर रु नौ लाख ५३ हजार आम्दानी गर्न सफल भएका छन् । यस वर्ष तिहारमा नगरपालिकाभित्रका किसानले दुई हजार सात सय ६० किलो फूल बिक्री गरेका हुन् ।

    स्थानीय किसानले उत्पादन गरेको सयपत्री फूलले बजार पाएपछि उनीहरू उत्साहित भएका छन् । किसानले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित हाटबजारबाट र आफ्नै बारीबाट फूल बिक्री गरेका थिए । स्थानीयस्तरमै उत्पादन भएको फूल उपभोक्तासम्म पुग्दा किसानलाई आम्दानीको अवसर मिलेको छ भने तिहारमा बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउनसमेत सहयोग पुगेको छ ।

    शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले स्थानीय किसानको उत्पादनले बजार पाएको बताए । किसानले उत्पादन गरेको फूल बिक्री हुनु सकारात्मक भएको उल्लेख गर्दै उनले स्थानीय उत्पादनको प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न बजारको पहुँच महत्वपूर्ण हुने बताए ।

    यस वर्ष फूल बिक्री गर्ने किसानमध्ये मुक्ति सिग्देलले सबैभन्दा बढी छ सय ८५ किलो सयपत्री बिक्री गरेका छन् । त्यस्तै सुदीप रेग्मीले तीन सय ८५ किलो, शान्ति भण्डारीले दुई सय किलो, सुरज वाग्लेले एक सय ७० किलो तथा ओमप्रकाश पौडेल, विनोद विश्वकर्मा र चन्द्रकला राईले जनही एक सय ५० किलो फूल बिक्री गरेका छन् ।

    यसैगरी महेन्द्रकुमार श्रेष्ठले एक सय २० किलो, मञ्जु श्रेष्ठले एक सय पाँच किलो र सन्तोष भट्टराईले एक सय किलो फूल बिक्री गरेका छन् । देउनारायण श्रेष्ठ, सुरेन्द्र वाग्ले र महेन्द्र घिमिरेले जनही ३५ किलो तथा पदमबहादुर विश्वकर्माले ३० किलो सयपत्री बिक्री गरेका छन्।

    स्थानीय किसान सुरज वाग्लेले आफूले उत्पादन गरेको सयपत्री फूलले बजार पाउँदा उत्साहित भएको बताए । फूल खेती गरेर उत्पादन गरेको वस्तु बिक्री गर्न बजारको समस्या नहुँदा किसानलाई थप हौसला मिलेको उनको भनाइ छ । स्थानीय उत्पादनले उपभोक्ताको माग पूरा गर्न सके किसानलाई व्यावसायिक फूल खेतीतर्फ आकर्षित गर्न सकिने उनले बताए ।

    तिहारमा सयपत्री फूलको माग बढी हुने भएकाले किसानका लागि फूल खेती आम्दानीको राम्रो माध्यम बन्दै गएको छ । घर, मठमन्दिर तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा प्रयोग हुने सयपत्री फूलको मागलाई स्थानीय उत्पादनले सम्बोधन गर्न थालेको छ ।