तनहुँ : तनहुँको व्यास नगरपालिकामा भदौ १ गतेदेखि जारी गरिएको निषेधाज्ञा आज सकिदैछ । समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेदेखि आज आइतबार दिउँसो १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञाको समय सकिने क्रममा रहेकाले अब के हुने भन्ने बारेमा व्यास नगरपालिकाका तर्फबाट केही धारणा बाहिर आएको छैन । यद्यपि नगरपालिका स्रोतले दिएको जानकारी अनुसार निषेधाज्ञा लम्ब्याउने तर्फ नगरपालिका छैन ।
व्यास नगरपालिका-१ की ६९ वर्षीया महिलामा पोखरामा परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनको परिवारका चार जना सदस्यमा पनि कोरोना सङ्क्रमण देखिएको थियो । त्यस्तै कोरोना सङ्क्रमणबाट मृत्यु भएकी व्यास नगरपालिका-१ अम्रेनीकी एक महिलाको सम्पर्कमा आएकाहरुको पहिचान गरी स्वाब सङ्कलन गरिएपनि रिपोर्ट भने आइसकेको छैन ।