तनहुँ : तनहुँको व्यास नगरपालिकामा पाँच दिन लकडाउन थपिएको छ । भदौ १ गतेदेखि ७ गते दिउँसो १२ बजेसम्म निषेधाज्ञा जारी गरिएकमा नगरपालिकाले थप पाँच दिन लकडाउन थप्ने निर्णय गरेको हो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाको बैठकले भदौ १२ गते राति १२ बजेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । कोभिड–१९ को जोखिम कायमै रहेकाले पाँच दिनका लागि लकडाउन लम्ब्याइएको नगर कार्यपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लकडाउन अवधिभर औषधिजन्य व्यापार तथा निजी स्वास्थ्य संस्थाहरु, दूध उपलब्ध गराउने बाहेकका अन्य सम्पूर्ण व्यापार व्यवसाय, उद्योग, कलकारखाना र सार्वजनिक यातायातका सवारी साधन बन्द रहनेछन् । प्रवक्ता श्रेष्ठका अनुसार नगर क्षेत्रभित्रका बैङ्कहरुको एटिएम सेवा र आन्तरिक कार्य बाहेक अन्य सबै सेवा बन्द हुनेछन् ।
नगरप्रमुख न्यौपानेले कोभिड–१९ सङ्क्रमण सम्भावित जोखिम रहेका क्षेत्रमा पिसीआर परीक्षणको दायरा बढाउन नगरपालिकाको स्वास्थ्य शाखाले आवश्यक समन्वय गरी व्यवस्थापन मिलाउने जानकारी दिनुभयो । साथै पिसीआर गरिएका व्यक्तिहरुलाई रिपोर्ट नआउँदासम्म अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ ।
लकडाउन अवधिमा वडा कार्यालयका अत्यावश्यक काम र विकास निर्माणका कामलाई भने निरन्तरता दिने निर्णय भएको छ । बैठकले एक साता अवधिको निषेधाज्ञाको समिक्षा समेत गरेको छ ।