तनहुँ : रोटर्याक्ट क्लब अफ दमौलीको आयोजना तथा सुनौलो परिवार नेपालद्वारा सञ्चालित मेरीस्टोप सेन्टर डुम्रेको सहकार्यमा आइतबार युवाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी गराइएको छ ।
अनलाइन मार्फत् सञ्चालित उक्त कार्यक्रममा सुनौलो परिवार नेपालकी डाइमन्ड कोडिनेटर विजय लामाले किशोरकिशोरी तथा युवाहरुमा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा उचित जानकारी हुनुपर्ने बताउनुभयो । कार्यक्रम सहजीकरण गर्दै लामाले प्रजनन् स्वास्थ्यको महत्व, परिवार नियोजन, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन र यसका प्रावधान, असुरक्षित गर्भपतनबाट उत्पन्न हुने समस्या, परिवार नियोजनका साधन र तीनको प्रयोग लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै मेरी स्टोप सेन्टर डुम्रेका कर्मचारी सतिस मरहट्टाले मेरी स्टोपले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि गर्दै आएका कार्यक्रमहरुको जानकारी गराउँदै संस्थाले युवा तथा किशोरकिशोरीलाई प्रजनन स्वास्थ्यका बारेमा सहि जानकारी गराउँदै आएको बताउनुभयो ।
प्रभावकारी चेतना र सूचनाका अभावमा युवाहरु विभिन्न शारीरिक तथा मानसिक समस्यामा परिरहेको अवस्थामा त्यस्ता युवा तथा किशोरकिशोरीलाई मेरी स्टोप सेन्टरबाट यौन तथा प्रजनन स्वास्थयको उचित सल्लाह र परामर्श दिदै आइएको उहाँले बताउनुभयो । कार्यक्रममा ४० जना युवा तथा किशोरकिशोरीको सहभागी रहेको कार्यक्रम संयोजक विशाल श्रेष्ठले जानकारी दिनुभयो ।