बाढीपहिराले घरवारविहिनको विवरण विपद् समितिमा पठाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    बाढीपहिराले घरवारविहिनको विवरण विपद् समितिमा पठाइने

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले गत असार २९ र त्यसपछि परेको वर्षाका कारण आएको बाढीपहिरोले क्षति भएका घरहरुको विवरण जिल्ला विपद् समितिमा पठाउने भएको छ । बाढीपहिरोले घर क्षति भएकाहरुलाई सरकारले राहत दिने निर्णय गरेपछि व्यास नगरपालिकाले त्यस्ता घरहरुको विवरण विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो ।

    नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको बैठकले क्षति भएका घरहरुको विवरण वडाबाट सङ्कलन गरी विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार भदौ १४ गतेभित्र वडाहरुबाट क्षति भएका घरहरुको विवरण सङ्कलन गर्ने निर्णय गरिएको छ ।

    बैठकले कोभिड–१९ को नियन्त्रण, उपचार एवं रोकथामका लागि हालसम्मको प्रगति विवरण उपर समिक्षा गर्नुका साथै क्वारेन्टिनको वैकल्पिक व्यवस्थाका लागि नगरपालिकाभित्रका सामुदायिक भवनलाई प्रयोग गर्ने निर्णय गरेको छ । साथै नगरसभाबाट पारित वडा र नगरस्तरीय योजना काार्यन्वयन गर्न कार्य प्रकृया अगाडी बढाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । कोभिड–१९ र लकडाउनका कारण नगरसभाले पारित गरेका विकास योजना प्रभावित भएका छन् ।

    बैठकले व्यास नगरपालिका–३ देउरालीनगरमा रहेको निर्माणाधीन बधस्थलको अधुरो कार्य सम्पन्न गर्न तत्काल प्रकृया अगाडी बढाउने, फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि हाल सम्भाव्य देखिएको व्यास नगरपालिका–४ र १० को बीचमा पर्ने सामुदायिक वन क्षेत्रमा रहेको स्थानको प्रारम्भिक वातावरणीय अध्ययन (आइई) गर्ने प्रकृया अगाडी बढाउने निर्णय समेत गरेको छ ।
    बैठकमा हालै सरुवा भई आएका व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र कार्यपालिका सदस्यबीच परिचयात्मक कार्यक्रम समेत गरिएको थियो ।