भानुमा एउटै वडामा थपिए ६ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा एउटै वडामा थपिए ६ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७७, मंगलवार

    तनहुँ : तनहुँको भानु नगरपालिकाको एउटै वडामा ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार भानु नगरपालिका वडा नं १ का ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    थपिनेमध्ये चार महिला र दुई पुरुष छन् । भानु नगरपालिका वडा नं १ का ४६ र ६३ वर्षीय पुरुष र ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    थपिएका सबै समुदायका व्यक्ति हुन् । तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिका-१ का ३४ वर्षीय एक पुरुषमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट भानु नगरपालिका वडा नं १ कै २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि पनि प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई पनि कोरोना पुष्टि भएको थियो ।

    मङ्गलबार थपिएका कोरोना सङ्क्रमित शुरुमा पहिचान भएकाहरुकै नजिकका व्यक्तिहरु रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । कन्ट्याक्ट ट्रेसिङबाट १ सय २७ जनाको स्वाब पठाइएकामा ६ जनामा पोजिटिभ देखिएको उहॉले जानकारी दिनुभयो ।

    भानुमा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।