तनहुँ : तनहुँको व्यास नगरपालिका–५ पतेनीमा बुधबार मृत अवस्थामा चितुवा फेला परेको छ । स्थानीय विष्णु वाग्लेको खेतमा हिलै हिलो भएको अवस्थामा चितुवा मृत अवस्थामा फेला परेको हो ।
एक वर्षको भाले चितुवा मृत अवस्थामा फेला परेको र चितुवाको शरीरमा कुनै पनि घाउ चोट नरहेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । “शरीरमा कतै पनि घाउ चोट छैन, चितुवा एकदमै दुब्लो छ,” बरालले भन्नुभयो ।
विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा पाँच चितुवा मृत अवस्थामा फेला परेका थिए । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ र भानु नगरपालिका–७ बसन्तपुरमा चितुवा मृत अवस्थामा फेला परेको थियो ।