तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले थप तीन दिन लकडाउन लम्ब्याउने निर्णय गरेको छ । बुधबारा सम्पन्न नगरपालिकाको बैठकले भदौ १३ गते राति १२ बजेसम्म लकडाउने लम्ब्याउने निर्णय गरेको हो ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा सङ्कलन गरिएको स्वाबको रिपोर्ट नआइसकेको र जोखिम कायमै रहेकाले तीन दिन लकडाउन लम्ब्याइएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो ।
शुक्लागण्डकी नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले गत भदौ ३ गतेदेखि १० गते बुधबार राति १२ बजेसम्म शुक्लागण्डकी नगरपालिका वडा नं २ देखि ९ सम्म निषेधाज्ञा जारी गरेको थियो ।
यस अवधिभर अत्यावश्यक सेवा बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य र उद्योग, कलकारखाना र अन्य व्यवस्थापन बन्द रहनेछन् । अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद् व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरु भने सञ्चालन गर्न पाइनेछ ।