प्रशासनद्वारा शुक्लागण्डकीकाे निषेधाज्ञालाई तीन दिन निरन्तरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासनद्वारा शुक्लागण्डकीकाे निषेधाज्ञालाई तीन दिन निरन्तरता

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०७७, बुधबार

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । यसअगाडी भदौ १० गते बुधबारसम्म जारी गरिएको निषेधाज्ञालाई भदौ १३ राति १२ बजेसम्मलाई निरन्तरता दिइएको प्रशासनले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शुक्लागण्डकी नगरपालिकाको वडा नं २ देखि ९ सम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम कारवाही गरिनेछ ।

    निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य र उद्योग, कलकारखाना र अन्य व्यवस्थापन बन्द रहनेछन् ।

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद् व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरु भने सञ्चालन गर्न पाइनेछ । त्यस्तै राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारी साधन, सरकारी कार्यालय र सार्वजनिक निकायका नियमित कार्य, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दूरी कायम गरी सञ्चालन गर्ने औषधि र औषधिजन्य पसल, खाद्य सामग्री पसल, फलफूल, तरकारी र दुग्धजन्य पसल, एम्बुलेन्स, शववाहन, खाद्य ढुवानी, औषधि, फलफूल, कुखुराको चल्ला, मासु, तरकारी, दुग्ध पदार्थ, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोग र झण्डावाला सवारी साधन, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधनहरु सञ्चालन हुनेछन ।

    शुक्लागण्डकी नगरपालिकाको बुधबार नै बसेको बैठकले पिसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र जोखिम कायमै रहेकाले थप तीन दिन कडाई गर्ने निर्णय गरेको थियो ।