तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा एक प्रहरी सहित आठ कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दे गाउँपालिका–४, ६ र ७ का आठ जनामा कोरोना पुष्टि भएको हो ।
म्याग्दे गाउँपालिका–४ का ३४, ६२, म्याग्दे गाउँपालिका–६ का ५८, ५३, म्याग्दे गाउँपालिका–७ का ३५ र ३७ वर्षीय पुरुष, एक वर्षीय बालक र ३१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमध्ये एक जना प्रहरी, ६ जना भारतबाट आएर होम क्वारेन्टिनमा बसेका र एक जना म्याग्दे गाउँपालिका–७ घर भई हाल व्यास नगरपालिका–३ शान्तिनगर बस्ने पुरुष रहेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी दिनुभयो ।
गाउँपालिकाले केही दिन पहिला १ सय ४५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाएको थियो । प्रमुख प्रशासकीय अधिकृत नागिलाले सङ्क्रमितहरुबाट कन्ट्याक्ट ट्रेसिङको काम अगाडी बढाउने जानकारी दिनुभयो ।
म्याग्दे गाउँपालिका–७ स्थायी ठेगाना रहेका पुरुष भने हाल व्यास नगरपालिका–३ शान्तिनगर बस्नुहुन्छ । भानु ससुराली भएका उहाँ केही समय अगाडी भानु पुग्नुभएको थियो । त्यहाँबाट फर्किएपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाँ घरकै छुट्टै कोठामा बस्नुभएको थियो ।
यस्तै भानु नगरपालिका-४ का ५० वर्षीय पुरुषमा पनि काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । तनहुँमा म्याग्दे र भानु गरी बिहीबार ९ सङ्क्रमित थपिएका छन् ।