तनहुँ : समुदाय स्तरमा कोरोनाको जोखिम बढेपछि तनहुँको व्यास नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १ देखि ७ गतेसम्म निषेधाज्ञा जारी गर्यो । भदौ ७ गतेपछि भने नगरपालिकाले सर्वपक्षीय बैठकपछि पॉच दिन लकडाउन गर्ने निर्णय गर्यो ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको पिसीआर रिपोर्ट नआइसकेकाले थप लकडाउन गर्नुपर्ने आवाज उठेपछि लम्ब्याइएको लकडाउन शुक्रबार राति १२ बजेपछि सकिदैछ । भोलि शनिबारबाट लकडाउन लम्बिएला की के गर्ला भन्नेमा धेरै नगरवासीको चासो छ ।
बिहीबार मात्रै दमौलीमा बसोबास गर्ने दुई जनामा कोरोना पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी गरिएको छ। दमौलीस्थित एक वित्तीय संस्थामा काम गर्ने भानु नगरपालिकाका र व्यास नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो ।
नगरपालिका स्रोतले दिएको जानकारी अनुसार अब लकडाउन गर्ने भन्दा पनि सुरक्षित भएर लकडाउन खुकुलो गर्ने पक्षमा नगरपालिका रहेको छ । दमौलीकै कतिपय व्यवसायी पनि लकडाउन मात्रै कोरोना नियन्त्रणको विकल्प नभएकाले लकडाउन खुल्ला गर्नुपर्ने पक्षमा छन् भने केही व्यवसायी लकडाउनलाई निरन्तरता दिनुपर्ने पक्षमा छन ।