नगर क्षेत्रको फोहर उठ्न शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नगर क्षेत्रको फोहर उठ्न शुरु

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, शनिबार

    तनहुँ : फोहर फाल्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि उठ्न नसकेको बजार क्षेत्रको फोहर तनहुँको व्यास नगरपालिकाले उठाउन शुरु गरेको छ । विगत एक सातादेखि बजार क्षेत्रमा फोहर उठ्न नसकेकामा नगरपालिकाले शुक्रबारदेखि फोहर उठाउन शुरु गरेको हो ।

    भतेरीमा फोहर फाल्ने ठाउँको वैकल्पिक व्यवस्था गरिएपछि नगर क्षेत्रको फोहर सङ्कलन पुनः शुरु गरिएको नगरपालिकाका सरसफाई उपशाखा प्रमुख भाग्यशाली ढुङ्गानाले जानकारी दिनुभयो । “नगरपालिकाले बजार क्षेत्रबाट सङ्कलन गरेर बिसर्जन गर्ने ठाउँ मादी नदीले कटान गरिदिएपछि समस्या भएको थियो, बाटो पनि बिग्रिएका कारण सवारी जान सक्ने अवस्था थिएन,” ढुङ्गानाले भन्नुभयो, “बाटो पनि मर्मत गरेका छौ, फोहर फाल्नका लागि भतेरीमै एक जनाको जग्गा केही समयका लागि लिएका छौ ।”

    नगरक्षेत्रबाट सङ्कलन गरिने फोहरमैला मादी नदी नजिकको भतेरीमा फाल्ने गरिन्थ्यो । मादीमा आएको बाढीले उक्त ठाउँ नै कटान गरिदिएर फोहर पनि बगाएपछि फोहर बिसर्जनमा समस्या हुँदै आएको थियो ।

    व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकामा डम्पिङ साइट नहुँदा विगत कयौ वर्षदेखि भतेरीमा फोहर फाल्दै आइरहेको छ । डम्पिङ साइट निर्माणका लागि नगरपालिकाले विगतमा व्यास नगरपालिका–५ स्थित एक सामुदायिक वनमा जग्गा अध्ययन गरेको थियो । तर स्थानीयवासीको विरोधपछि नगरपालिका उक्त ठाउँबाट पछि हटेको छ ।

    नगरपालिकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि हाल सम्भाव्य देखिएको व्यास नगरपालिका–४ र १० को बीचमा पर्ने सामुदायिक वन क्षेत्रको स्थानको प्रारम्भिक वातावरणीय अध्ययन (आइइ) गर्ने तयारी गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।