तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत दमौलीको मुख्यचोकमा छ कालिका टोल । ट्राफिकचोबाट अगाडी बढ्दा दायाँतर्फ र भोर्लेटारचोकबाट आउँदा बायाँतर्फ रहेको कालिका टोल केही समय अगाडीसम्म त्यति व्यवस्थित थिएन ।
तर यतिबेला यहाँका वासिन्दा कालिका टोललाई नमूना बनाउन अग्रसर भएका छन् । प्रत्येक घर अगाडी फूल रोपिएको छ, नाला सफा गरेर व्यवस्थित बनाइएको छ । “कालिका टोलवासीको एकता, घर आँगन टोल हराभरा बनाउने प्रतिबद्धता” भन्ने मूल नारालाई सार्थक बनाउन प्रत्येक घर अगाडी फूल रोपेर आकर्षण बनाउने प्रयास गरिएको टोल विकास संस्थाका अध्यक्ष ईमकुमार मल्लले जानकारी दिनुभयो ।
टोल विकास संस्थाका सचिव दिनेशकुमार श्रेष्ठका भोर्लेटारचोकदेखि सफासडकको माथिल्लो भागसम्म सयपत्री, आँक, धतुरो, पारिजात, अमला, दतिवन लगायतका बिरुवा रोपिएको छ । “प्रत्येक घर अगाडी बिरुवा रोप्दा टोलमा छुट्टै रौनकता छाएको छ,” श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार रिक्सा, अटोरिक्सा, ठेला, विभिन्न यातायातका सवारी साधन पार्किङले सर्वसाधारण एवं पैदलयात्रुलाई असुविधा भएकाले टोलको अग्रसरतामा सहज व्यवस्थापन गरिएको थियो ।
समाजसेवी एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले सबैलाई जागरुक बनाई आ आफ्नो टोलमा विभिन्न प्रकारका फूल रोपी नगरलाई व्यवस्थित बनाउन प्रेरणा जगाउनुपर्ने बताउनुभयो । समाजसेवी रजाक मियाँले नगरलाई स्वच्छ, सफा राख्ने र अन्य टोलवासीलाई यस कार्यले थप हौसला प्रदान गर्ने बताउनुभयो ।
उक्त टोलमा फूलका बिरुवा रोप्नका लागि व्यास नगरपालिकाले रु एक लाख ९५ हजार उपलब्ध गराएको थियो भने टोलवासीले पनि प्रत्येक घरबाट रकम उठाएका छन् । फूलका बिरुवा वरपर ढुङ्गाको गाह्रो लगाइएको छ । ढुङ्गाको गाह्रो लगाउनका लागि विष्णुकुमार श्रेष्ठले निःशुल्क ढुङ्गा उपलब्ध गराउनुभएको थियो ।