तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७७, शनिबार

    तनहुँ : तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना भएको हो ।

    कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले पूर्वाधार विकास कार्यालयको स्थापना गरी काम शुरु गरिएको जानकारी दिनुभयो । जिल्लामा यस अघि पूर्वाधार विकास कार्यालय थिएन । नवलपुरमा रहेको कार्यालयले तनहुँ जिल्ला हेर्ने गर्दथ्यो । साविकको पूर्वाधार विकास कार्यालयको सम्पर्क कार्यालय रहेको भवनमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको ढुङ्गानाले बताउनुभयो ।

    कार्यालयमा २५ जनाको दरवन्दी कायम भएको छ । “दरवन्दी अनुसारको कर्मचारी त पूरा भइसकेको छैन, स्थायी कर्मचारी सबै हुनुहुन्छ, बाँकी इन्जिनियर, सवइन्जिनियरलाई मन्त्रालयले करारमा पठाउन सक्छ,” ढुङ्गानाले भन्नुभयो ।

    तनहुँ जिल्लामा सञ्चालित विकास योजनाका फाइलहरु नवलपुरबाट तनहुँ ल्याउने प्रकृया शुरु भइसकेको र चालु आर्थिक वर्षदेखि अनुगमन देखि कार्यक्रम कार्यान्वयनको सबै काम तनहुँबाट हुने उहाँले बताउनुभयो । “क्रमागत योजनाहरुका फाइल पनि ल्याएर त्यसको अनुगमन शुरु गर्छौ,” उहाँले भन्नुभयो ।

    गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तनहुँ जिल्लाका लागि चालु आर्थिक वर्षमा कार्यक्रम पठाइसकेको छ । बजेट भाषणबाट पारित भएका सबै कार्यक्रम र बजेट जिल्लामा आइसकेको छ । जिल्लामा पूर्वाधार विकास कार्यालय नहुँदा सेवाग्राहीलाई नवलपुर जानुपर्ने बाध्यता अब हटेको छ । पूर्वाधार विकास कार्यालयले प्रदेश सरकार अन्तर्गतका सडक, मोटरेवल तथा झोलुङ्गे पुल, भवन निर्माण गर्छ ।

    कार्यालयको मातहत नै आजदेखि डुम्रेमा रहेको यातायात व्यवस्था शाखाको कार्यालय पनि शुरु भएको छ । उक्त कार्यालयबाट तनहुँ सहित गोरखा र लमजुङका सेवाग्राहीले सवारीदर्ता प्रमाणपत्र नवीकरण गर्दै आएका छन् । तर अब गोरखा र लमजुङमा पनि यातायात व्यवस्था शाखा स्थापना हुने भएपछि डुम्रेको कार्यालय दमौली स्थानान्तरण गरिनेछ ।

    “अहिलेसम्म डुम्रेकै कार्यालयबाट सेवाग्राहीले सेवा लिइरहेको अवस्था छ, त्यही चाप छ, बिस्तारै गोरखा र लमजुङमै कार्यालय स्थापना भएको जानकारी भएपछि उक्त कार्यालय दमौली ल्याउँछौ,” ढुङ्गानाले भन्नुभयो ।