अब घरबाटै परीक्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अब घरबाटै परीक्षा

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७७, मंगलवार

    काठमाडौं : नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसक्ने भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट परीक्षा लिने भएको छ ।

    सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागिएको पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिनुभयो ।

    पूर्वाञ्जल विश्वविद्यालय प्राज्ञिक परिषद्को आइतबार र कार्यकारी परिषद्को सोमबारको बैठकले असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    के हो टाइम–बाउन्ड होम एक्जाम ?

    टाइम–बाउन्ड होम एक्जाम परीक्षार्थीले घरमै बसेर दिने परीक्षा हो । विश्वविद्यायले परीक्षा सुरु हुनुभन्दा पहिला ३० मिनेट पहिले प्रश्नपत्र क्याम्पस प्रमुख वा केन्द्राध्यक्षलाई इमेलमार्फत पठाउँछ ।

    क्याम्पस प्रमुख वा केन्द्राध्यक्षले परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि परीक्षार्थीको इमेलमा प्रश्नपत्र पठाउँछ ।

    निर्धारित समयमा परीक्षा दिएर उत्तरपुस्तिकामा परीक्षार्थीलाई फेरी केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखलाई पठाउँछ । केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखले इमेलमार्फत पठाएको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयले ‘क्लस्टर’ छुट्याएर जाँच्न पठाउँछ ।

    परीक्षा नियन्त्रक प्रा.डा. संग्रौला यसबारे विस्तृत जानकारी सहितको निर्देशिका र परीक्षा कार्यक्रम यथाशीघ्र प्रकाशित गरिने बताउँछन् ।

    मध्यपश्चिमाञ्चलमा अनलाइन/अफलाइन परीक्षा

    मध्यपश्चिमाञ्जल विश्वविद्यालयले भने मध्यवर्ती परीक्षा अफलाइन र अनलाइन दुबै माध्यमबाट सञ्चालन गरेको छ ।

    विश्वविद्यालयका परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदी विद्युत र इन्टरनेटको पहुँचमा नभएका परीक्षार्थीका लागि अफलाइन परीक्षा दिने व्यवस्था मिलाइएको बताउनुहुन्छ । उहॉका अनुसार अफलाइन परीक्षा दिने विद्यार्थीहरूले प्रश्नपत्र पाएको भोलिपल्टसम्म लेखेर बुझाउन सक्छन् ।

    गत साउन १६ गते बसेको मध्यमाञ्चल विश्वविद्यालय पदाधिकारी बैठकले वस्तुगत, विषयगत र ‘प्रोजेक्ट बेस्ड एसाइनमेन्ट’को आधारमा प्रश्नपत्र तयार पार्ने निर्णय गरेको थियो ।

    मध्यमाञ्चल विश्वविद्यालयद्वारा सार्वजनिक तालिका अनुसार भदौ १९ गतेसम्म मध्यवर्ती परीक्षा सम्पन्न भईसक्नेछ ।

    त्रिविमा डिन कार्यालयलाई जिम्मा

    त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को बैठकले सेमेष्टर परीक्षाको जिम्मा सम्बन्धित डिन कार्यालयलाई दिने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

    तत्काल परीक्षा सञ्चालन हुन नसक्ने भएपछि डिनहरूले अर्को सेमेस्टरको अनलाइन परीक्षा सुरु गरेका छन् ।