तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट आज बिहान मस्र्याङ्दी नदीमा सवारी साधन खसेको छ । तर यसको विस्तृत विवरण भने आउन बाँकी छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले घटनास्थलको प्रकृति हेर्दा सवारीसाधन खसेको जस्तो देखिएको जानकारी दिनुभयो । “घटनास्थल हेर्दा कुनै सवारी साधन नदीमा खसेको देखिएको छ, नेपाल आर्मी, नेपाल प्रहरी लगायतको टोली घटनास्थलमा छ,” थापाले भन्नुभयो, “गोताखोर मगाएका छौ ।” नदीको सबैभन्दा गहिरो भाग रहेकाले कुनै सवारी नदेखिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सडकको डिभाइडर भाँचेर कुनै सवारी साधन नदीमा खसेको जस्तो देखिएको बताउनुभयो । “प्रमुख जिल्ला अधिकारी र म पनि अहिले घटनास्थलमा छु,” उहाँले भन्नुभयो, “सवारी साधन यो भन्ने देखिएको छैन, सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटोमा देखिएकाले त्यही हो की भन्ने अनुमान छ, एकिन भइसकेको छैन ।”