तनहुँ : भारतीय सेनामा कार्यरत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ४२ वर्षीय पुरुष भदौ ३ गते घर फर्किएर होम क्वारेन्टिनमा बस्नुभयो । उहाँको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पोखरा पठाईएकोमा भदौ १२ मा पाेजिटिभ रिपोर्ट आयो । परिवारमा पनि सर्यो की भनेर उहाँको श्रीमती र छोरीको पनि पिसीआर परीक्षण गर्न स्वाब पठाईएकोमा छोरीलाई सङ्क्रमणको पुष्टि भएको छ ।
बुधबार दिउँसो प्रदेश स्वास्थ्य निर्देशनालयले २० वर्षीया ती किशोरीलाई काेराेना सङ्क्रमण पुष्टि गरेकाे शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो । सङ्क्रमित किशोरीको सम्पर्कमा रहेका परिवारका सदस्य हजुरआमा, आमा र बहिनीको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि पठाउने तयारी भएको उहाँले बताउनुभयो ।
यो घटनाले होम क्वारेन्टिनमा बस्नेले लापरवाही गर्दा समुदायमा सङ्क्रमण व्यापक फैलने आशंका उब्जाएको छ । “होम क्वारेन्टिनमा बस्दा लापरवाही हुने भयो । जोखिम पनि बढ्छ । अब क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गर्छौँ,” श्रीवास्तवले भन्नुभयो । सरकारले विद्यालयबाट क्वारेन्टिन हटाउन निर्देशन दिएपछि शुक्लागण्डकी नगरपालिकाले बेलचौतारामा ४५ शैय्या क्षमताको क्वारेन्टिन तयार पारेको छ ।
बुधबार विहान पनि स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१ की २६ वर्षीया किशोरीमा सङ्क्रमणको पुष्टि भएको थियो । उहाँको स्थायी घर शुक्लागण्डकी भएपनि पोखराको अमरसिंह चोकस्थित पार्कल्याण्ड हस्पिटलमा कार्यरत स्टाफ नर्स रहेको निर्देशनालयले जनाएको छ।