गोताखोरको टोलीले फेला पार्न सकेन मस्र्याङ्दीमा खसेको भनिएको सवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गोताखोरको टोलीले फेला पार्न सकेन मस्र्याङ्दीमा खसेको भनिएको सवारी

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बिहीबार

    तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक पृथ्वीराजमार्गस्थित सडकबाट बुधबार बिहानै मस्र्याङ्दी नदीमा सवारी खसेको सूचना प्रहरीलाई आयो । भत्किएको सडकसँगै भाँचिएको डिभाइडरले नदीमा सवारी खसेको अड्कल गरिएको थियो ।

    लगत्तै प्रहरीले कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टोली मगाएर नदीमा खोजी शुरु ग¥यो । तर गोताखोरको टोलीले पनि फेला पार्न नसकेर टोली फर्किएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलका अनुसार गोताखोरको टोलीले नदीभन्दा २० फिट तल गएर खोज्दा पनि केही देखिएन । “घटनास्थलको प्रकृति हेर्दा कुनै सवारी साधन खसेको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो, “अब के गर्ने भन्ने बारेमा प्रमुख जिल्ला अधिकारीसँग सल्लाह गरेर अगाडी बढ्छौ ।”

    उहाँका अनुसार सर्लाहीको एक ट्रक हराएको भन्ने बारेमा प्रहरीलाई सूचना प्राप्त भएको छ । यद्यपि मस्र्याङ्दीमा खसेको भनिएको ट्रक सोही हो वा होइन भन्नेमा एकिन नभएको प्रहरीको भनाई छ । “हराएको भनिएको ट्रकका चालक र सहचालकको पनि सम्पर्क हुन सकेको छैन,” उहाँले भन्नुभयो, “ट्रकका साहुलाई बोलाएका छौ, थप अनुसन्धान गर्छौ ।”

    प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेलले बिहानै घटनास्थलको अनुगमन समेत गर्नुभएको थियो । प्रहरीका अनुसार बिहानको समयमा आँबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गरेको मिनी ट्रक सिसिटिभी फुटेजमा देखिएको थियो ।

    तस्वीर : बादल थकाली