तनहुँ : तनहुँको व्यास नगरपालिका–७ शेरास्थित व्यासमार्गमा लागुऔषध कारोवार गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–२ प्रगतिटोल बस्ने २३ वर्षीय आशिष श्रेष्ठ, व्यास नगरपालिका–१ गल्वुवेशी बस्ने २७ वर्षीय सन्तोष राणा र व्यास नगरपालिका–१ भादगाउँ बस्ने २१ वर्षीय सन्तोष कार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शङ्कास्पद रुपमा हिँडिरहेका तीन जनालाई निगरानी गर्दा तीन जना भाग्न खोजेपछि प्रहरीले उनीहरुलार्य पक्राउ गरेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये आशिषले लगाएको पाइन्टको गोजीमा प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा डाइजेपाम १४, फेनरागन १४ र नुफिन १४ गरी ४२ थान लागुऔषध बरामद भएको छ ।
पक्राउ परेकाविरुद्ध बिहीबार जिल्ला अदालत तनहुँबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।