अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्ने सम्बन्धि मापदण्ड संशोधन गर्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    अत्यावश्यक वस्तु तथा सेवा होम डेलिभरी गर्ने सम्बन्धि मापदण्ड संशोधन गर्न माग

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७७, बिहीबार

    काठमाडौ : नेपाल ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालहरुको साझा फोरमले होम डेलिभरी गर्ने सम्बन्धी मापदण्ड-२०७७ जारी भएकामा खुशी व्यक्त गर्दै मापदण्डका केही बुँदा संशोधन गर्न माग गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौले बिहीबार जारी गरेको “निषेध आदेशको समयमा अत्यावश्यक बस्तु तथा सेवा होम डेलिभरी गर्ने सम्बन्धि मापदण्ड २०७७” मा केही संशोधन गर्न आवश्यक रहेको नेपाल ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालहरुको साझा फोरमले जनाएको छ ।

    फोरमका संयोजक सागरदेव भट्टले जनताको प्रत्यक्ष सेवामा रहेका सुरक्षाकर्मीलाई पिपिई समेत अनिवार्य नगरिएको तर डिजिटल कारोबार र सामाजिक दूरी कायम गरि गरिने डेलिभरीका कर्मचारीलाई पिसिआर रिपोर्ट अनिवार्य गराउनु न्यायोचित नभएको बताउनुभयो । “ जोखिम भएको अवस्था, रोगको लक्षण भएमा र कन्ट्याक्ट् ट्रेसिङ अन्तर्गत आवश्यकती भएको अवस्थामा कर्मचारीको पिसिआर जाँच गर्न हामी सदैव सकारात्मक छौं र गर्दै पनि आएका छौ,” विज्ञप्तीमा भनिएको छ ।

    डेलिभरीको समय दिउँसो १ बजे देखि सॉझ ७ बजेसम्म सीमित गरिएको तर अत्यावश्यक वस्तुरो डेलिभरी बिहान ५ बजे देखि बेलुकी ९ बजेसम्म निर्बाध सञ्चालन गर्न दिनुपर्ने र सो कामका कर्मचारी घर कार्यालय आउन जान बाधा नपुर्‍याउन माग गरिएको छ ।

    विज्ञप्तीमा हाल स्कूलदेखि विश्वबिद्यालय बन्द भै विद्यार्थीहरु घरमै स्वअध्ययन गर्न बाध्य हुनुपरेको समयमा किताब एवं स्टेशनरी सामानलाई पनि अत्यावश्यक बस्तुमा सूचीकरण गरि निर्वाध डेलिभरीको बाताबरण बनाउनु पर्ने माग गरिएको छ ।

    यस संस्थाले कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिमा समेत होम डेलिभरी सहज बनाइदिन ज्ञापन पत्र बुझाएको छ। “हाम्रो अनुरोधलाई सकारात्मक लिइ जिल्ला प्रशासन कार्यालय र कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले होम डेलिभरी सहज बाताबरण बनाउन सहयोग गर्ने कुरामा हामी आशावादी छौ,” भट्टले भन्नुभयो ।

    स्वास्थ मन्त्रालयले बालबालिका र ६० बर्ष नाघेका र १२ बर्ष मुनिका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरिरहेको सन्दर्भमा कतिपय परिवारमा सोही समूहका व्यक्ति किनमेल गर्न निस्कन परेको अवस्थामा सबै उमेर समुहका व्यक्तिलाई घर बाहिर निस्कनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य होम डेलिभरिले गर्न सक्ने बताइएको छ ।

    यसअघि भदौ ११ गते ई-कमर्स कम्पनीका सञ्चालक र होम डेलिभरीका कर्मचारी गरि ९९ जना प्रहरी नियन्त्रणमा परेपछि नेपाल इ कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो। सो माग बमोजिम भदौ १४ गते काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य बिभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरीको एक-एक जना अधिकृत प्रतिनिधि सहितको समिति गठन भएको थियो ।