सङ्क्रमण पुष्टि भएको चार दिनपछि आइसोलेशनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सङ्क्रमण पुष्टि भएको चार दिनपछि आइसोलेशनमा

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको भानु नगरपालिका–६ का ३८ वर्षीय पुरुषलाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । घरमै अलग्गै कोठामा बस्नुभएका उहाँलाई बुधबार मात्रै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा लगियो ।

    “पहिला आइसोलेशनमा बेड छैन भनियो । घरमै पनि सुरक्षित बसेको थिएँ । बुधबार साँझ यहाँ ल्याईएको छ,” टेलिफोनमा उहाँले भन्नुभयो । ती पुरुषसँगै भानु नगरपालिका–६ मा एकैदिन २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर, सङ्क्रमण पुष्टि भएको चार दिन पुग्दासमेत पाँच जना सङ्क्रमित अझै घरमा बसिरहेका छन् ।

    १७ जना सङ्क्रमितलाई बिहीबार दिउँसोसम्म आइसोलेशनमा पु¥याइएको छ । तीमध्ये १५ जनालाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेशनमा र दुई जनालाई दमौली अस्पतालले सञ्चालन गरेको आइसोलेशनमा राखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । बाँकी तीन जनालाई पनि छिट्टै आइसोलेशनमा ल्याउने उहाँले बताउनुभयो । “दुई जना सङ्क्रमितलाई घरमै बस्न उपयुक्त छ । उहाँहरुलाई होम आईसोलेसनमै राख्छौ,” उहाँले भन्नुभयो ।

    पछिल्लो समय जिल्लामा होम क्वारेन्टिनमा बस्न दिँदा परिवारका सदस्यलाई पनि सङ्क्रमण भएको घटना सार्वजनिक भइरहेको छ । आइसोलेशनमा लैजाने भएपछि सङ्क्रमितलाई पाँच दिनसम्म पनि घरमै राख्नु गम्भीर लापरवाही हो । तर, भानु नगरपालिकाका प्रमुख उदयराज गौली यसलाई लापरवाही मान्न तयार हुनुहुन्न ।

    “आइसोलेशन भरिभराउ भएकाले लैजान ढिलाई भएका हो । सरकारले गरेको निर्णयमा पनि घरमै आइसोलेशनमा बस्न चाहनेलाई राख्ने भनिएको छ । तसर्थ लापरवाही भएको होइन ।” उहाँले सङ्क्रमितकै सहमतिमा घरमा राखिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, “अस्पताल ल्याएर पनि औषधि गर्ने त केही पनि होइन, ज्वरो आए सिटामोल दिन्छन् । नत्र भने आराम गर्ने, खाना दिने हो ।”

    कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापनमा स्थानीय तह लागिपरेको ६ महिना हुँदा समेत पर्याप्त आइसोलेशन छैन । पालिकामै आइसोलेशन बनाएर राख्दा सङ्क्रमितलाई जटिल समस्या देखिए सम्बन्धित अस्पताल लैजान टाढा पर्ने भएकाले भानुमा आइसोलेशन नबनाएको उहाँको जिकिर छ ।