तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकास्थित एक दम्पत्तिलाई भदौ ११ गते कोरोना सङ्क्रमण पुष्टि भयो । भारतबाट आएर होम क्वारेन्टिनमा बस्नुभएका उहाँहरु सहित आठ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
आठ जनामध्ये एक जना प्रहरी, ६ जना भारतबाट आएर होम क्वारेन्टिनमा बस्नुभएका र अर्का एक जना म्याग्दे घर भई दमौलीमा बसोबास गर्ने व्यक्ति हुनुहुन्थ्यो । म्याग्दे गाउँपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा १ सय १७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएकामा बिहीबार थप एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उक्त विवरण गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान सार्वजनिक गरेको छ ।
भदौ ११ गते सङ्क्रमित हुनुभएका दम्पत्तिको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणमा उहाँका छोरी २६ वर्षीया युवतीमा कोरोना पुष्टि भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । “कोरोना सङ्क्रमण पुष्टि हुनेहरुका परिवारका सदस्यको पिसीआर परीक्षण गरिएकामा थप एक जनामा कोरोना पुष्टि भएको छ,” उहाँले भन्नुभयो, “बाँकी १ सय १६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।” कोरोना पुष्टि भएकी युवतीलाई बिहीबार नै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेशनमा लगिसकिएको छ ।
यस्तै शुक्रबार नै भानु नगरपालिका वडा नं ७ का ५५ वर्षीया महिलालाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।