कांग्रेसमा विभाग गठन र मनोनयन खारेज गर्न असन्तुष्ट समूहको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेसमा विभाग गठन र मनोनयन खारेज गर्न असन्तुष्ट समूहको माग

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७७, शनिबार

    काठमाडौं : नेपाली कांग्रेसको असन्तुष्ट समूहले विधानविपरीत गठित विभाग र मनोनयन खारेज गर्न माग गरेको छ।

    पार्टी सभापति शेरबहादुर देउवा इतरका केन्द्रीय सदस्यहरुको राजधानीमा शनिबार बसेको बैठकले मनोमानी ढंगबाट भएका विभाग गठत र मनोनयन खारेज गर्न माग गरेको हो। 

    सभापति देउवाले पार्टीका विभिन्न विभाग गठन गरी तिनमा सदस्यहरुलाई मनोनयन गर्दै आएका छन्। देउवाको यस्तो गतिविधि पार्टी विधानविपरीत रहेको दाबी उनी इतर समूहको छ।

    कांग्रेसको विधानअनुसार महाधिवेशन सकिएको ६ महिनाभित्रमा विभाग गठन गर्नुपर्ने हुन्छ। 

    तर, कार्यकाल सकिएपछि महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा देउवाले विभाग गठन लगायतका काम जारी राखेपछि इतर समूहका नेता असन्तुष्ट छन्। 

    ‘विगतमा पार्टी सभापतिलाई ज्ञापनपत्र बुझाएका थियौं। त्यसैको निरन्तरताअनुसार बैठक बसेको हो,’ केन्द्रीय सदस्य जीवन परियारले भन्नुभयो, ‘पार्टीका वरिष्ठ नेता, निर्वाचित महामन्त्री, कोषाध्यक्ष लिखित रुपमा बुझाउदा पनि मतलब गरिएको छैन।’

    सभापतिले नेताहरुले ध्यानाकर्षण गराएको विषयमा जवाफ नदिई विधानविपरीत काम गर्दै आएको उहॉको भनाइ छ। 

    जिल्ला तहमा रहेको विवाद तथा अन्य थुप्रै समस्या समाधान नगरेसम्म महाधिवेशन निष्पक्ष हुन्छ भन्ने विश्वास नभएको बैठकको ठहर छ। 
    ‘महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि सभापति देउवाले एकलौटी विभाग गठनलगायत पार्टी विधानविपरीतका गतिविधि जारी राख्नुभएको छ,’ एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘यी सबै गतिविधि तत्काल रोक्न बैठकले भनेको छ। नभए देउवाविरुद्ध चरणबद्ध दबाब कार्यक्रम अघि बढाइनेछ।’

    नेपाली कांग्रेसका ४७ वटा विभागमध्ये देउवाले २० वटा विभागमा नेताकार्यकर्तालाई जिम्मेवारी दिएका छ्न्।