


तनहुँ : तनहुँको देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सोह्र श्राद्ध गर्न भिडियोको प्रयोग गर्नुभएको छ । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि सुवेदीले भिडियोबाटै सोह्र श्राद्ध गर्नुभएको हो ।
पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्न कोरोनाको जोखिम भएकाले भिडियो प्रविधिको प्रयोग गरी श्राद्ध सम्पन्न गरेको सुवेदीले जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिका–११ चितवनमा पितृको श्राद्ध गर्नुभएको हो ।
यस अघि हरेक वर्ष पण्डितलाई घरमै बोलाएर श्राद्ध गर्दै आउनुभएका सुवेदीले घरमै
बोलाएर श्राद्ध गर्नु भन्दा भिडियोको माध्यमबाट झन् सजिलो भएको बताउनुभयो । “अहिले पण्डितलाई घरमै बोलाउने अवस्था पनि रहेन, प्रविधिको प्रयोग गरेर श्राद्ध गर्ने काम गरेँ,” सुवेदीले भन्नुभयो, “यसले गर्दा समय पनि चाँडै सकिने र अन्य झन्झट पनि नहुने ।”
उहाँका अनुसार भिडियो हेर्दा पण्डित छेउमै बसेको अनुभव भएको छ । भिडियो सन्देशमा पण्डितको निर्देशन अनुसारको सबै विधि पु¥याएर श्राद्ध गर्न सहज भएको सुवेदीले बताउनुभयो । आफ्ना अन्य दाजुभाई काठमाडौंमा रहेकामा उनीहरु पनि सोही भिडियोमा जोडिएर श्राद्धको कार्य पूरा गरेको सुवेदीले जानकारी दिनुभयो ।
“प्रविधिको उच्चतम प्रयोगले पितृ कार्य सहज भएको र कोरोनाको कुनै पनि
जोखिम भएन,” उहाँले भन्नुभयो, “सोह्र श्राद्धको अवधिमा पण्डितहरु कम्तीमा पनि चार÷पाँच घरमा पुगेका हुन्छन् । यसले गर्दा दुवै पक्षलाई जोखिम हुने हुँदा अहिलेको अवस्थामा भिडियोको प्रयोग नै उपयुक्त लाग्यो ।”
कुशको टुक्रालाई पण्डित मानेर आफ्नै अगाडी राखेर त्यसलाई टिका लगाएर दक्षिणा स्वरुप केही पैसा चढाउन सकिने सुवेदीले बताउनुभयो । पण्डितलाई पछि भेटघाटको क्रममा अथवा अन्य केहीमाध्यमबाट दक्षिणा दिन सकिने सुवेदीले बताउनुभयो । विश्वभर महामारीको रुपमा रुपमा फैलिएको कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भए झै हिन्दुहरुको वार्षिक पितृ अर्पण कार्य सोह्र श्राद्ध पनि प्रभावित भएको छ ।