आइसोलेशनमा बस्नेको गुनासो – तातो पानी पनि पाएनौ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आइसोलेशनमा बस्नेको गुनासो – तातो पानी पनि पाएनौ

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत कोरोना सङ्क्रमितले तातो पानी नपाएको गुनासो गरेका छन् । भानु नगरपालिका–६ टुहुरेपसलका एक सङ्क्रमितले खबरपुञ्जसँगको कुराकानीमा अस्पतालले तातो पानीको व्यवस्था नगरेको गुनासो गरेका हुन् ।

    भदौ १० गते स्वाब सङ्कलन गरिएकामा भदौ १४ गते सार्वजनिक रिपोर्ट अनुसार उहाँमा कोरोना सङ्क्रमण देखिएको थियो । उहाँ सहित त्यसदिन २२ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । भानु नगरपालिकाले उहाँ लगायत १५ सङ्क्रमितलाई भदौ १७ गतेमात्रै उपचार केन्द्रको आइसोलेशनमा लगेको थियो ।

    “कोरोना सङ्क्रमण भएको बेला तातो पानी पिउनु भनेर समाचारमा सुनेका थियौ, तर यहाँ त आएदेखि नै तातो पानीको व्यवस्था गरिएको छैन,” ती सङ्क्रमितले टेलिफोनमा भन्नुभयो, “यस विषयमा पटक पटक भन्यौ तर सुनुवाई भएन, बाध्य भएर सञ्चारमाध्यमलाई जानकारी गराउन प¥यो ।”

    उहाँले आइसोलेशनमा लामखुट्टे र उडुसको समस्या देखिएको दावी गर्नुभयो । “लामखुट्टे र उडुसले टोकेर हैरान बनायो,” उहाँले भन्नुभयो । उहाँले दश जना सङ्क्रमितले एउटै शौचालय प्रयोग गर्नुपर्दा समस्या भएको बताउनुभयो । लक्षण नदेखिएका बिरामीलाई घरमै पनि बस्न सकिने सरकारले बताएको भन्दै उहाँले भन्नुभयो, “घरमा त बरु छुट्टै शौचालय प्रयोग गर्न सकिन्थ्यो, तर आइसोलेशनमै धेरै जनाले एउटै चर्पी प्रयोग गर्नुपर्ने बाध्यता छ ।”

    जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले भने तातोपानी पिउनका लागि विद्युतीय जग उपलब्ध गराएको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “सबैलाई एक÷एक वटा त पुग्दैन । तर तातोपानी तताएर पिउनलाई पुग्नेगरी उपलब्ध गराएका छौ ।” उनले लामखुट्टे र उडुसको बारेमा आफू कहाँ गुनासो नआएको बताउनुभयो । उहाँले आईसोलेशनमा उपचाररत सङ्क्रमितले आवश्यक भन्दा बढी माग गर्न थालेको जानकारी दिनुभयो । “सकेको व्यवस्थापन गरेका छौ । आवश्यक बाहेकका सबै माग पूरा गर्न सकिदैन,” उहाँले भन्नुभयो ।