चार घण्टा खोलाको बीचमा अड्किदा…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चार घण्टा खोलाको बीचमा अड्किदा…

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    तनहुँ : सोमबार रातिदेखि वर्षा भइरहेको थियो । तनहुँको व्यास नगरपालिका–५ बरबोटे नजिक साँगेखोलामा पानीको बहाव बढ्दै थियो । धान खेतमा पानी ल्याउन साँगेखोलामा राखिएको पाइप पानीले डुबाउन लागेपछि सोही ठाउँका कोशिश थापा र जुननारायण परियार मङ्गलबार बिहानै खोलामा पुग्नुभयो ।

    पाइप निकाल्न पुग्नुभएका दुवै जना खोलाको बीच भागमा पुगेपछि अकस्मात बाढी आयो । १६ वर्षीय कोशिश र २८ वर्षीय जुननारायण खोलामा आएको बाढीका कारण बीचैमा अड्किनुभयो । दुईतिरबाट बगेको खोलाको बीचमा बस्ने ठाउँ थियो, उहाँहरु करिब चार घण्टा त्यही बस्नुभयो ।

    त्यसबीचमा हारगुहार गरेपछि गाउँलेहरु भेला आए । खोलामा पानीको बहाव एकदमै बढी भएका कारण स्थानीयवासी पनि खोलामा जाने आँट गर्न सकेनन् । पछि स्थानीयवासीले वडाध्यक्ष मोहनकुमार श्रेष्ठलाई यस बारेमा जानकारी गराएपछि नेपाली सेनाको कालीभञ्जन गण (ई)को उद्धार टोली उक्त ठाउँमा पुगेको थियो । उद्धार टोली पुग्दा पानीको बहाव घटिसकेका कारण दुई युवा चार घण्टा पछि पारिपट्टिबाट खोला तरेर आएका थिए ।

    “मलाई पनि ढिला गरी जानकारी प्राप्त भयो, खबर पाउने बित्तिकै नेपाली सेनाको उद्धार टोलीलाई अनुरोध गरेर पुगेका थियौ,” वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “तर त्यसबीचमा पानीको बहाव घटेकाले खोलाको पारिपट्टिबाट निस्कन सकिने अवस्था देखेपछि थप केही गर्नुपरेन ।”