


तनहुँ : तनहुँको सदरमुकाम दमौलीमा चार दिन फोहर नउठ्ने भएको छ । व्यास नगरपालिकाले फोहर बिसर्जन गर्ने ठाउँ मादी भतेरी नदीले कटान गरिदिएपछि नगरपालिकालाई बजार क्षेत्रबाट फोहर सङ्कलन गर्न समस्या भएको हो ।
व्यास नगरपालिका–३ भतेरीमा फोहर फाल्ने गरिएकामा नदीले उक्त ठाउँ कटान गरिदिएपछि चार दिन बजार क्षेत्रको फोहर उठाउन नसकिने नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार भदौ २७ गतेसम्म बजार क्षेत्रको फोहर उठाउन नसकिने भएकाले फोहर घरबाहिर नल्याउन नगरवासीलाई आग्रह गरिएको छ ।
“नदीले भतेरी जाने बाटो र फोहर फाल्ने ठाउँ नै कटान गरिदिएपछि अस्थायी रुपमा बाटो बनाएर फोहर फाल्ने ठाउँ बनाएका थियौ, तर पुनः समस्या आएपछि हाललाई उक्त ठाउँमा फोहर बिसर्जन रोकिएको छ,” आचार्यले भन्नुभयो, “फोहर बिसर्जनका लागि वैकल्पिक ठाउँ तयारी हुँदै गरेकाले चार दिन फोहर उठाउन नसक्ने भयौ ।”
उक्त ठाउँमा फोहर फाल्न सम्भव नभएपछि व्यास नगरपालिका–४ र १० को बीचमा पर्ने माथिल्ला भतेरीमा फोहर फाल्ने तयारी गरिएको छ । मादी नदीमा प्रदूषण नहुने गरी फोहर बिसर्जन गर्ने र स्थानीय टोल विकास संस्थाको माग बमोजिम विकासका पक्षहरुलाई क्रमशः सम्बोधन गरिने नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । नगरप्रमुख न्यौपानेका अनुसार स्थायी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न वडा नं ४ का अध्यक्ष विश्वराज न्यौपानेको अध्यक्षतामा वातावरणीय अध्ययन समिति गठन गरिएको छ ।
व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकामा डम्पिङ साइट नहुँदा विगत कयौ वर्षदेखि भतेरीमा फोहर फाल्ने गरिएको छ ।