


तनहुँ : तनहुँको सदरमुकाम दमौलीमा अवस्थित व्यास नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माणको प्रकृया शुरु गरेको छ । प्रत्येक स्थानीय तहमा अस्पताल बनाउने सङ्घीय सरकारको निर्णय बमोजिम नगरपालिकाले पनि नगरस्तरीय अस्पतालका लागि प्रकृया शुरु गरेको हो ।
नगरस्तरीय अस्पतालको पूर्वाधार निर्माणका लागि नगरपालिकाले जग्गाको खोजी शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । अस्पताल निर्माण गर्न न्यूनतम ३० रोपनी जग्गा आवश्यक पर्ने भएकाले सबै वडासमितिसँग जग्गाको प्रस्ताव माग गर्ने निर्णय भएको सिग्देलले बताउनुभयो ।
“नगरपालिकाले नगरस्तरीय छुट्टै अस्पताल बनाउने तयारी सहित आवश्यक जग्गाको खोजी शुरु गरेको छ,” सिग्देलले भन्नुभयो, “त्यसका लागि न्यूनतम ३० रोपनी जग्गा आवश्यक पर्ने भएकाले वडा कार्यालयलाई यसका लागि प्रस्ताव गरेका छौ ।” सिग्देलका अनुसार नगरपालिकाले १५ शैय्याको अस्पताल बनाउने तयारी गरेको छ ।