हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग आवश्यक : मन्त्री चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग आवश्यक : मन्त्री चुमान

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७७, बुधबार

    तनहुँ : गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा तनहुँले बुधबार आयोजना गरेको सिकाई व्यवस्थापन प्रणाली सम्बन्धी अनलाइन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले अहिलेको युग सूचना प्रविधिको युग भएकाले हरेक कुरामा सूचना प्रविधिले नेतृत्व गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

    जुन देशमा सूचना प्रविधिको प्रयोग भएको छ, त्यो देश विकसित भएको भएको चर्चा गर्नुहुँदै मन्त्री चुमानले सूचना प्रविधिको कम प्रयोगका कारण नेपाल पछाडी परेको बताउनुभयो । विश्वव्यापी रुपमा सूचना प्रविधिको खोज र अध्ययन हुन जरुरी रहेको बताउँदै मन्त्री चुमानले दिनदिनै नयाँ प्रविधि आविष्कार भइरहेपनि त्यसको जानकारी सबैलाई पुग्न नसकेको उल्लेख गर्नुभयो ।

    कोभिड–१९ का कारण सबै क्षेत्रमा अस्तव्यस्त रहेपनि शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो असर पुगेको बताउँदै मन्त्री चुमानले भन्नुभयो, “सङ्कटको ठिक ढंगले सामना गर्न सके अवसरको रुपमा प्रयोग गर्न सकिन्छ, अहिले त्यही अवसर प्राप्त गर्ने बेला आएको छ ।”

    मन्त्री चुमानले भन्नुभयो, “अहिलेको सङ्कटले सबै क्षेत्र अस्तव्यस्त छ, जनजीवन अस्तव्यस्त छ, जनजीवन सहज बनाउनका निम्ति गण्डकी प्रदेश लागिपरेको छ ।”

    क्यान महासङ्घका केन्द्रीय अध्यक्ष नवराज कुंवरले कोभिड–१९ को प्रभावमा कतिपय विद्यालयले अनलाइनबाट शिक्षा प्रदान गरिरहेको र त्यो सकारात्मक रहेको बताउनुभयो । अबको युग प्रविधिको भएका कारण पनि सूचना प्रविधिको विकल्प नरहेको उहाँको भनाई थियो ।

    क्यान महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेले सूचना प्रविधिको क्षेत्रमा विद्यालयलाई सहयोग पु¥याउन क्यान तयार रहेको बताउनुभयो । कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा पुगेको असर र प्रविधि प्रयोग गरी कक्षा सञ्चालनका लागि गर्न सकिने आधार, सम्भावना र अप्ठ्याराका विषयमा छलफल गर्ने उद्देश्य सहित अनलाइन तालिम आयोजना गरिएको क्यान तनहुँका अध्यक्ष टिकाराम पनेरुले जानकारी दिनुभयो ।

    कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) सूचना प्रविधिसँग जोडिएको संस्था भएकाले यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास लिइएको पनेरुले बताउनुभयो । भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा जिल्लाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षासँग सम्बन्धित व्यक्ति र प्रविधिसँग सम्बन्धित व्यक्ति तथा सरोकारवालाको सहभागिता रहेको छ । उक्त प्रशिक्षणमा रेगबहादुर भण्डारी र सगुन ढुङ्गानाले सहजीकरण गर्नुभएकाे छ ।

    कार्यक्रम सञ्चालनका लागि प्याब्सन, नेशनल प्याब्सनसँग सहकार्य गरिएको छ भने प्रशिक्षक एवं प्राविधिक पक्षका लागि कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) केन्द्रले सहयोग पु¥याएको छ ।