दमौलीमा अब ‘नो हर्न, नो ओभरटेक’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा अब ‘नो हर्न, नो ओभरटेक’

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७७, बुधबार

    तनहुँ : जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ । दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो ।

    अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ,” उहाँले भन्नुभयो, “शुरु शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गर्छौ ।”

    प्रहरीको यो अभियानलाई तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईले साथ दिएको छ । इकाईले प्रहरीलाई सचेतनामूलक चार वटा सङ्केत सामग्री हस्तान्तरण गरेको छ । सङ्केत सामग्रीमा तीव्र गतिमा सवारी नचलाऔ, ओभरटेक नगरौ, हर्न नबजाऔं लगायतका सचेतनामूलक सन्देश राखिएको छ ।

    दमौली बजार क्षेत्रको सवारी व्यवस्थापनका लागि इकाईले विगतदेखि नै प्रहरीलाई सहयोग गर्दै आइरहेको इकाई सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार इकाईले सहयोग गरेको उक्त सङ्केत सामग्री दमौली बजार प्रवेश गर्ने बुल्दी र मादी पुलमा राखिनेछ । त्यसका साथै भोर्लेटार चोक र जिल्ला प्रहरी कार्यालय अगाडी पनि उक्त सामग्री राखिने श्रेष्ठले जानकारी दिनुभयो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सवारी व्यवस्थापनका लागि सामाजिक सङ्घसंस्थाको सहयोग सकारात्मक रहेको बताउनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले प्रहरीसँग हातेमालो गर्दै सामाजिक क्षेत्रका काममा सहयोग गर्न व्यवसायी तयार रहेको बताउनुभयो ।

    सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत सङ्घकै पहलमा दमौली बजारमा सिसिटिभी क्यामरा जडान गरिएको र त्यसले शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याएको बताउनुभयो ।