व्यास नगरपालिकाले खुलायो विद्यार्थी भर्ना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाले खुलायो विद्यार्थी भर्ना

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०७७, बुधबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले विद्यार्थी भर्ना खुल्ला गरेको छ । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको नगर शिक्षा समितिको बैठकले कक्षा नर्सरीदेखि कक्षा १० सम्मको विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय गरेको हो ।

    वैकल्पिक शिक्षालाई सञ्चालन गर्नका लागि विद्यालयमा विद्यार्थी सङ्ख्या एकिन गर्नुपर्ने भएकाले सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयमा भर्ना खुल्ला गरिएको नगरपालिकाले जनाएको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्मको भर्ना गर्नका लागि असोज ५ गतेसम्म समय निर्धारण गरिएको छ ।

    एसइइ नतिजा प्रकाशन भईसकेको अवस्थामा विद्यार्थी भर्ना अभियानमा केही अन्यौलता देखिएकाले क्याम्पस एवं विद्यालयहरुमा असोज १५ गतेसम्म भर्ना सक्न नगरपालिकाले अनुरोध गरेको छ । भर्ना अभियानमा भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

    वैकल्पिक शिक्षा प्रणालीलाई व्यवस्थित एवं मर्यादित बनाउनका लागि नगर शिक्षा प्रमुख नगेन्द्रप्रसाद रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा सत्यवती माविका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, वेदव्यास प्राविका सहायक प्रधानाध्यापक कल्पना घिमिरे, नेशनल प्याब्सनका उपाध्यक्ष विशेश्वर खनाल र प्याब्सनका सदस्य विना कैनी सदस्य रहनुभएको छ ।

    समितिको आमन्त्तित सदस्य एवं सल्लाहकारमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले र शिक्षक महासङ्घका अध्यक्ष रामचन्द्र पोख्रेल रहनुभएको छ ।

    उक्त समितिले आवश्यक अध्ययन गरी भदौ ३१ गतेभित्र वैकल्पिक शिक्षा कार्यक्रम कसरी सञ्चालन गर्न सकिने वा नसकिने तथा अन्य कुनै विधि अपनाउन सकिने सम्बन्धमा नगर शिक्षा समिति समक्ष पेश गर्नुपर्नेछ ।