तनहुँ : तनहुँको व्यास नगरपालिका–४ निवासी ३६ वर्षीय एक मिर्गौला पीडित पुरुषलाई कोरोना सङ्क्रमित भएपछि दोस्रो पटक डायलासिस गरिएको छ । कोरोना सङ्क्रमण भएर दमौली अस्पतालले व्यवस्थापन गरेको आइसोलेशनमा रहेका ती युवाको शनिबार बिहान डायलासिस गरिएको हो ।
दमौली अस्पतालमा रहेको शत्रुधन मन्जु डायलासिस केन्द्रमा शनिबार बिहान ती युवालाई डायलासिस सेवा प्रदान गरिएको केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । कोरोना सङ्क्रमित भएपछि पहिलो पटक ती युवाको बुधबार सोही केन्द्रमा डायलासिस गरिएको थियो । ती युवालाई डायलासिस गराउनका लागि छुट्टै कक्षको व्यवस्था मिलाइएको पण्डितले बताउनुभयो ।
ती युवालाई डायलासिस गराउनका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको र स्वास्थ्यकर्मी पनि केन्द्रकै आइशोलेनमा बसिरहेका छन् । मिर्गौला पीडितलाई आइसोलेशनबाट केन्द्रसम्म ल्याउने र लैजान व्यास नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गरिदिएको छ ।
पोखरामा परीक्षण गराउँदा कोरोना सङ्क्रमण पुष्टि भएपछि अब कहाँ डायलासिस गराउने भन्नेमा शुरुमा अन्यौलता देखिएपनि अब उक्त अन्यौलता हटेको छ । केन्द्रले कोरोना सङ्क्रमणमुक्त नभएसम्म छुट्टै राखेर उच्च सावधानीका साथ डायलासिस गराउने व्यवस्था मिलाएको छ ।
केन्द्रमा हाल ६८ जना मिर्गौला पीडितले डायलासिस सेवा लिइरहेका छन् । दैनिक २२ जनालाई तीन घण्टाको अवधिमा डायलासिस सेवा प्रदान गरिएको छ । नियमित रुपमा डायलासिस गराइरहेका मिर्गौला पीडितलाई कुनै समस्या नभएको खण्डमा पिसीआर अनिवार्य गरिएको छैन, तर कुनै लक्षण देखिएको खण्डमा भने पिसीआर परीक्षण गराउन अनुरोध गरिएको छ ।
विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म करीब २५ हजार भन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा ९ वटा डायलासिस गराउने उपकरण रहेको छ ।
हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६ वटा डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि ३ वटा उपकरण थप गरेपछि केन्द्रमा हाल ९ वटा डायलासिस उपकरण रहेको छ ।